ललिता निवासको जग्गामा बालेनले लिए एक्सन, देउवा हिन्दू राष्ट्र पक्षमा उभिएपछि कांग्रेसमा तरंग [भिडियाेसहित]

ललिता निवासको जग्गामा बालेनले लिए एक्सन, देउवा हिन्दू राष्ट्र पक्षमा उभिएपछि कांग्रेसमा तरंग [भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको सभापति देउवा दाबी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । तर अहिले उपयुक्त समय नभइसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि उनले स्पष्ट पारे । अभियानले अहिलेसम्म ९५० महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको दाबी गरेको छ ।

लिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न महानगरपालिकाकाे आग्रह

काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।

वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निर्णय सुनाएको थियो ।

त्यसपछि बुधबार महानगरपालिकाले ७ दिनको अल्टिमेटम दिएर त्यस क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सो क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्न सहयोग गर्न आह्वान गरेको हो ।

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायाे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै र्यालीसहित सिंहदबार पुगेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकार प्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक÷कानूनी व्यवस्थालगायतको माग उल्लेख छन् ।

नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका(-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

सो हत्यामा ईश्वरीका श्रीमानराजुको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी पनि जंगलमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरु पोष्टमार्टमका लागि पठाइएको छ ।

लघुवित्त पीडितहरुले गरे काठमाडौंमा प्रदर्शन

लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् ।पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भई७ दिन हिँडेर काठमाडौं आएका हुन् ।सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरु पुनः सरकारलाई झक्झकाउन काठमाडौं आएका हुन्।

कांग्रेस नेता गणेश लामाबाट अपहरणमा परेको भन्दै गणेश लामाले दिए प्रहरीमा जाहेरी

ग्यापू अनलाइन मार्केट प्लेसका संस्थापक ज्ञानेन्द्र खड्काले आफू कांग्रेस नेता गणेश लामाबाट अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। खड्काले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लामाविरूद्ध जाहेरी दिएका हुन्।

खड्काले यसबारे बुधबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्। आफूलाई लामा र सहदेव कक्षपति लगायतले ललितपुरको धोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलमा लगेर ८ घण्टाभन्दा बढी बन्धक बनाएको उनको आरोप छ ।

नेपालकाे राहदानी वरीयतामा १०३ औं स्थानमा

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले सन् २००६ मा पहिलो पटक राहदानीको विश्व वरीयता निकाल्दा नेपाल ७६ औं नम्बरमा थियो । उही संस्थाले सोमबार सार्वजनिक गरेको २०२४ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा भने १०३ औं स्थानमा झरेको छ । नेपाल २०२३ मा पनि उही स्थानमा थियो । वरीयता सूची निस्कन थालेयताको १८ वर्षमा नेपालको वरीयता सुध्रनुको साटो २७ स्थान तल झरेको हो ।

सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि (विहिबार) उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौती दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्।

आठ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८०र८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ । गत आवको सुरुआती सात महिना अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात दुई दशमलव ३१ र निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ।

बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटे

बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार सूचक ६।४६ अंकले घटेर २०२६।५९ विन्दुमा बन्द भएको छ । १५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । अघिल्लो दिनका तुलनामा सेयर कारोबार ८७ करोडले कम भएको छ । बुधबार ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ ।

भारतमा किसानहरुको आन्दोलनले लियाे उग्ररूप

भारतमा किसानहरुको आन्दोलनले उग्ररूप लिएको छ । चार चरणको वार्ता असफल भएपछि पुनः राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेका आन्दोलनरत किसानलाई प्रहरीले रोक्नको लागि अश्रुग्यास प्रहार गरेको बीबीसीले जनाएको छ। आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ लागेका हुन्।

यता दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ। आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०÷२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नामिबियाविरुद्ध नेपालकाे दोस्रो हार

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित गरेको हो । नेपालले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

नामिबियालाई जिताउन कप्तान जेराल्ड एरास्मसले अर्धशतक पारी खेले । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो दोस्रो खेलमा भने नेदरल्याण्डमाथि ९ विकेटको सानदार जित दर्ता गर्याे । अब नेपालले सिरिजमा अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ ।

Logo