सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने, बालेनलाई पछि पारिन् प्रचण्ड पुत्री रेणुले [भिडियाेसहित]

सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने, बालेनलाई पछि पारिन् प्रचण्ड पुत्री रेणुले [भिडियाेसहित]

केन्द्रबिन्दु
280
Shares

सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिए

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैं उच्च अदालत पुगेर पुनरावेदन दिएका हुन्।

कानूनी व्यवस्था अनुसार पाटनबाट उनले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति पाएका छन् । पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्ष कैद ठहर गरेको थियो।

तर उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौती दिएका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्।

कांग्रेस महासमिति बैठक बिहीबार सम्पन्न

नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ। बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन्

समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन्। जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । त्यसपछि आज प्रधानमन्त्री प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राख्ने रवि लामिछाने र प्रेम सुवालकाे दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिएवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राख्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानीभन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरेका हुन्। उनले मल रोकेर किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताए।

सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई गर्याे सर्कुलर

सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ।

सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन र सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्नेलाई कारबाही प्रक्रिया अघि बढाउनका मन्त्रालयले पत्राचार गरेको हो।

सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धिसर्पन, गौचरन र घाट कानुन विपरीत कसैले निजीकरण गरेको भेटिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९-८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो।

१७ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको छ। दोस्रोमा काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन्।

मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान पानीका कारण बिहीबार बिथोलियाे

मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान पानीका कारण बिहीबार बिथोलिएको छ। थानकोटको त्रिभुवन पार्कमा देशभरबाट जम्मा भएका मिटरब्याज पीडितहरुले दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारी गरेका थिए।

तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबा पुग्न सम्भव नभएको हो । अब भोलि बिहान ७ बजेदेखि सिंहदरबार मार्च सुरु गर्ने उनीहरुको तयारी छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गर्दै गरेको रिटलाई सर्वोच्चले अग्राधिकार

यौनिक तथा लैंगिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गर्दै गरेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको छ। राजनीतिमा सो समुदायको पहुँच स्थापित नभएको र त्यहीकारण कानून निर्माणमा सो समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै रिट परेको थियो। रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गरेको हो।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ समेत पाँच जनाले दायर गरेको रिट चाँडो टुङ्गो लगाउनुपर्ने प्रकृतिको देखिँदा अग्राधिकार प्रदान गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने

नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ। कोरियन कृषिजन्यजैविक क्लस्टरसंस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्नेतयारी पनि गरिरहेको छ।

बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्यजैविक क्लस्टर संस्थासँग नेपालमा स्मार्ट खेतीका लागि सहकार्य हुने साख स्टिलका निर्देशक किरण साखले जानकारी दिए। नेपाल र कोरियन प्रविधिको आदनप्रदान गर्ने स्मार्ट फार्मिङमार्फत नेपाली हर्बललाई विश्वमा विस्तार गर्ने संस्थाको तयारी रहेको साखले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ। ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिँदैछ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो।

नेप्से परिसूचक बिहीबार पनि उच्च अङ्कले ओरालो लाग्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खस्याे

विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ।

अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ। यसअघि कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर कसैले देख्ने गरी ध्वस्त भएको घटना नभएको खबरमा उल्लेख छ।

क्यानडा ११ ले घरेलु टोली नेपालविरुद्धको एकदिवसीय सिरिजको उपाधि जित्याे

क्यानडा ११ले घरेलु टोली नेपालविरुद्धको एकदिवसीय सिरिजको उपाधि जितेको छ। बिहीवार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल एलाई ४ विकेटले पराजित गर्दै क्यानडा ११ले २–१ ले सिरिजको उपाधिमा कब्जा जमाएको हो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो। नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो।

Logo