नेपालमा टिकटक चल्न थालेपछि सरकारलाई तनाव, न्याय नपाएसम्म मिटरब्याजपीडित नफर्किने [भिडियाेसहित]

नेपालमा टिकटक चल्न थालेपछि सरकारलाई तनाव, न्याय नपाएसम्म मिटरब्याजपीडित नफर्किने [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय

समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । अब नेकपा एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व गरेको पार्टीलाई पत्राचार गरिने बताइएको छ ।

वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा छः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन् । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले यो सबै कांग्रेसको हातमा रहेको र उसैलाई सोध्न भनेका हुन् । साथै प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।

लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि पार्टीमा विवाद उत्पन्न

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए। उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राज किशोर यादव आज त्यता लागेका छन्।

थापाथलीबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन्। उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको हो।

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो। त्यसलगत्तै सीसी क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको प्रहरीले शुक्रबार राति १२ बजे सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो।

प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको काठमाडौं महानगरपालिकाले गर्याे थप कडाई

साउनदेखि सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको काठमाडौं महानगरपालिकाले थप कडाई गरेको छ । केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । महानगरले विसं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम सङ्कलन

साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम सङ्कलन भएको छ । स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरू र अन्य भक्तजनहरूबाट भएको सहयोगबाट करिब एक करोड सहयोग सङ्कलन भएको हो । मेला शनिबार साँझ विशेष समारोहबिच समापन भएको छ ।

मिटरब्याजीपीडित सरकारले न्याय नदिएसम्म घर नफर्कने

लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन्।

मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ।

सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आयाे

नेपालकै सबैभन्दा लामो दाबी गरिएको सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १।२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै साेध्याे स्पष्टीकरण

नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ। सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो। सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु

इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको प्रयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भएको हो । तर, यसैबीच गाजामा आक्रमणमा भएको हो ।

जाजरकोट भूकम्पका पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले गर्याे २० लाख रुपैयाँ सहयोग

जाजरकोट भूकम्पबाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित परिवारका लागि क्यानले गत आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गराएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानको टोलीले २० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको हो।

Logo