संसदमा बाझाबाझ, शिशु चोर्नेलाई १० वर्षसम्म जेल सजायकाे माग [भिडियाेसहित]

संसदमा बाझाबाझ, शिशु चोर्नेलाई १० वर्षसम्म जेल सजायकाे माग [भिडियाेसहित]

केन्द्रबिन्दु
132.4k
Shares

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच वादविवाद

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ। आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन्।

राप्रपाका सांसदहरुले संसदमा राजसंस्थाको वकालत गर्दै आएका छन् । त्यसतर्फ संकेत गर्दै माओवादी सांसद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताएपछि संसदमा हंगामा भएको हो । गत शुक्रबार पनि सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा उपनिर्वाचन गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा उपनिर्वाचन गर्ने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । त्यस्तै, बझाङ–१ को प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त छ ।

राष्ट्रपति पौडेलका भतिज अनिलराजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न सचिवलाई दबाब

राष्ट्रपति रामचन्द्र पौडेलका भतिज अनिलराज पौडेललाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सचिवलाई दबाब दिएका छन्।

मन्त्री आचार्य राष्ट्रपति पौडेलका भाञ्जा हुन् । २६ माघमा मन्त्री आचार्य समक्ष परिषदमा राष्ट्रपति पौडेलका भतिज अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवेदन दिएका थिए। पौडेलले पत्र लेखेको तीन दिनपछि २९ माघमा मन्त्री आचार्यले ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक आदेश दिएका छन्।

२३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्तागर्न गृह मन्त्रालयले वार्ता टोली बनायाे

२३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्तागर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको छ। मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको समेत उल्लेख छ। पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ।

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव डा.दामोदर रेग्मीको नेतृत्वमा समिति गठन

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव डा.दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररिय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक भएको छ । यो तथ्याङ्करुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले सार्वजनिक गरेको हो ।

अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको र उनीहरुको काजक्रिया पनि भइसकेको जनाएको छ ।यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ ।

उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस

न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।

केयूकेएलमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया स्थगित

सञ्चालक समितिले नियुक्ति अगाडि नै घुस लिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया स्थगित गरेको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूले निवेदकबाट अग्रिम घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति प्रक्रिया रद्द गरिएको हो ।

रिक्त सीईओ पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको संक्षिप्त सूची तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नियुक्ति प्रक्रिया स्थगित गरिएको हो।

शिशु चोर मनकुमारी सिंहविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलायाे

थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी मनिष डागीको घरमा चोरी

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी मनिष डागीको घरमा चोरी भएको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो।

नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ।

एक क्लिकमै जोसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता समिप अर्याललाई पहिलो नम्बरमा

एक क्लिकमै जोसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता समिप अर्याललाई पहिलो र्‍याङ्कमा राखेको छ । सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको हो । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै समाज लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार उच्च अङ्कले घटेको दिन आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

उत्तर प्रदेशको कौशांबी जिल्लाको एक पटका कारखानामा भीषण विस्फोटमा परेर ८ जनाको मृत्यु

उत्तर प्रदेशको कौशांबी जिल्लाको एक पटका कारखानामा भीषण विस्फोटमा परेर ८ जनाको मृत्यु भएको छ,कयौँ मानिसहरू गम्भीर घाइते भएका छन् ।कारखानामा लामो समयसम्म विस्फोटको आवाज आइरहेको सुनिएको थियो ।

आगलागी निभाउन दुघर्टनास्थलमा कयौँ दमकल समेत खडा थिए। कारखानाबाट उद्धारकर्मीहरूले १० जनालाई उद्धार गरेर बाहिर निकालेका थिए ।अधिकांशको स्थिति गम्भीर भएको बताइएको छ। कारखानाभित्र अझै ८ जना फसेको बताइएको छ। विस्फोट स्थलबाट कयौँ किलोमिटर परसम्म पटकाका टुक्रा उडेर पुगेको जनाईएको छ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध नेपाल

घरेलु टोली नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध भएको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको हो।

यसअघि पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको थियो। जुन जित नेपालको सिरिजमा पहिलो जित मात्रै बन्यो । यसअघिका दुवै खेलमा नामिवियाविरुद्ध नेपाल पराजित हुन पुगेको थियो। सिरिजमा नेपालले घरेलु मैदानमै तेस्रो हार व्यहोर्यो ।

Logo