लघुवित्तपीडित संसद छिरेपछि तनाव, एक लाख पुग्यो नेपाली क्रिकेटरको तलब [भिडियाेसहित]

लघुवित्तपीडित संसद छिरेपछि तनाव, एक लाख पुग्यो नेपाली क्रिकेटरको तलब [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

प्रतिनिधिसभाकाे बैठक फागुन १८ गतेसम्मका लागि सर्याे

प्रतिनिधिसभाको किचलो फागुन १८ गतेसम्मका लागि सरेको छ।

सोमबारको शून्य समयमा विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपालेका सांसदहरूले बालकुमारी घटनालगायत विभिन्न विषयमा प्रश्न उठाउँदै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तको माग राखेपछि तनावको अवस्था सिर्जना भएको थियो।

बैठक १५ मिनेटका लागि स्थगीत पनि भयो । त्यसपछि सभामुख देवराज घिमिरेले विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिन रुलिङ गरेपछि बैठक सुचारु भएको थियो। अब बैठक फागुन १८ गते बस्नेछ।

लघुवित्त ऋणीहरुले नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरेर विरोध प्रदर्शन

लघुवित्त ऋणीहरुले नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन्।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेर विरोध प्रदर्शन गरेका हुन्। सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ। तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन्। संसदको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि यस घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ। छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ।

लोसपाका नेता राजेन्द्र महतोले पार्टी परित्याग गरे

लोसपाका नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष पत्रकार सम्मेलन गर्दै नेता महतोले महन्थ ठाकुर नेतृत्वको लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन्। महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए।

आजको अवस्थामा लोकतन्त्र, गणतन्त्र, विकास र समाजवादको बहस जनता झुक्याउने र ठग्ने प्रपञ्च सावित भएको भन्दै नेता महतोले वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक अभियानको थालनी गरेका दाबी गरेका छन्।

प्रतिनिधिसभातर्फ इलाम- २ र प्रदेशसभातर्फ बझाङ-१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय

निर्वाचन आयोगले २०८१ वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय तोकेको छ। आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ साथै चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ।

२३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग सोमबार हुने भनेको वार्ता विथोलियाे

२३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग सोमबार हुने भनेको वार्ता विथोलिएको छ। गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो।

सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो। वार्ताका लागि जानुअघि नै ‘बद्नियतपूर्वक’ पीडितलाई लखेट्ने प्रयास भएकाले वार्तामा आफूहरु नगएको उनको भनाई छ।

सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय माग

सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ। सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पुनः २ महिना समय थप गरिसकेको छ।

थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ। आयोगले बयान लिने काम अन्तिम चरणमा पुर्याएको छ। आयोगले विभिन्न विज्ञहरूसँग परामर्श गर्नुका साथै यसअघि मुद्दा चलाइएका र नचलाइएका व्यक्तिहरूसँग पनि सोधपुछ र बयान लिने काम गरेको छ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालतले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले ललिता निवासस्थित संघलगायत घरजग्गाहरू खाली गर्न सात दिने सूचना सम्बन्धित व्यक्ति र संस्थालाई दिएको थियो।

विशेष अदालतको फैसला कार्यान्वयनका लागि महानगरले जारी गरेको सूचना सुविधा सन्तुलनको हिसाबले उचित नभएको भन्दै संघले उच्च अदालतमा रिट दायर गरेको थियो। त्यसपछि आज अदालतले महानगरपालिकाको सूचना तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर

टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ। इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ। एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए।

वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा

वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिएको हो।

अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको हो।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ। विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर रु दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन्।

अमेरिकाको वासिङ्टन डिसीस्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास

अमेरिकाको वासिङ्टन डिसीस्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। अमेरिकी सुरक्षा अधिकारीहरूले आगो निभाउँदै ती व्यक्तिलाई अस्पताल पुर्याएका थिए।

सहरको फायर डिपार्टमेन्टले उनको अवस्था नाजुक रहेको बताएको छ। घटनाबारे वासिङ्टनको प्रहरीका साथै गुप्तचर विभागले अनुसन्धान गरिरहेको छ। यता इजरायलको विदेश मन्त्रालयले आत्मदाहको प्रयास गर्ने व्यक्तिदूतावासका कर्मचारीको पहिचानको नभएको विज्ञप्ति प्रकाशित गरेको छ।

नेपाल क्रिकेट सङ्घ क्यानले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने

नेपाल क्रिकेट सङ्घ क्यानले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ।

यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन्।

जसमा कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्। त्यस्तै, बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई रु ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई रु ३५ हजार, ‘सी’ लाई रु ३० हजार, ‘डी’ लाई रु २५ हजार तथा इमर्जिङ समूहलाई रु २० हजार प्रदान गर्ने निर्णय पनि भएको छ।

Logo