मेयर बालेनमाथि लाग्यो गम्भिर आरोप, बालकुमारी घटनामा मुछिएका सिडिओलाई महत्वपूर्ण जिम्मेवारी [भिडियाेसहित]

मेयर बालेनमाथि लाग्यो गम्भिर आरोप, बालकुमारी घटनामा मुछिएका सिडिओलाई महत्वपूर्ण जिम्मेवारी [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

मेयर बालेनले टर्चर दिएको भन्दै काठमाडौं महानगरपालिकाकी एक कर्मचारीले गरिन् कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा

मेयर बालेन शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै काठमाडौं महानगरपालिकाकी एक कर्मचारीले कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन्।

काठमाडौं महानगरमा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत हरिमाया घिमिरे (सस्मिता) ले लामो समयदेखि मेयर बालेन शाहको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन्।

उनले बुधबार वक्तव्य जारी गर्दै आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक भएको भन्दै मेयर बालेनले बाहिरका आफूनिकट वकिललाई अनियमित ढंगले पैसा खर्च गरेर करारमा राखी, महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोपसमेत लगाएकी छन्।

‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता राजेन्द्र महतो र उनका समर्थकसँग प्रहरीको घम्साघम्सी

लोसपा छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता राजेन्द्र महतो र उनका समर्थकसँग प्रहरीको घम्साघम्सी परेको छ।

दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न पुगेका उनीहरूलाई सिंहदरबारको मूल गेटअगाडि भद्रकाली मन्दिर परिसरमा प्रहरीले रोकेको हो ।घेरा तोड्न खोज्दा महतोसहितका नेता–कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको सोक्रममा केही घाइते भएका छन्।


बालकुमारी घटनापछि तत्कालीन ललितपुरका सिडिओबाट हटाइएका सहसचिव रुद्रप्रसाद पण्डितले पाए गृहमन्त्रालयमा जिम्मेवारी

बालकुमारी घटनापछि तत्कालीन ललितपुरका सिडिओबाट हटाइएका विवादास्पद छविका सहसचिव रुद्रप्रसाद पण्डितले गृहमन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी पाएका छन्। गत पुस १३ गते कोरियन भाषा परीक्षा इपीएस कार्यालय परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जना युवकको ज्यान गएको थियो।

जसमा उनको पनि संलग्न रहेको पाइएपछि मन्त्रालय तानिएको थियो । तर, बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नहुँदै गृह मन्त्रालयले पण्डितलाई कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो। उनले कार्यभारसमेत सम्हालिसकेका छन्।

उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत

२०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ। अब यही फागुन २८ गते आयोगको वेबसाइटबाट मतदाता नामावली प्रकाशन गरिनेछ।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिनछ।

बहुप्रतीक्षित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ अब २०८१ जेठमा मात्रै हुने

बहुप्रतीक्षित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ अब २०८१ जेठमा मात्रै हुने भएको छ। बुधबारका लागि तोकिएको सुनुवाइको पेसी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ हेटौँडा हुँदै जनकपुरतिर लागेकाले हुन सकेन।

प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास नै गठन नहुने भएकाले उक्त विवादमा सुनुवाइ नभएर अब अर्को पेसी २०८१ जेठ ३० गतेसम्मलाई सरेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुईपटक गरी अख्तितयार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति प्रक्रियामा प्रश्न उठाएर अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए। उक्त रिटको निरुपण अझैसम्म भएको छैन।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीले आफ्नै उम्मेदवार पठाउने निर्णय गरेको हो।

नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह ईपीजीको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा गृहकार्य भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह ईपीजीको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा गृहकार्य भइरहेको बताएका छन्।

राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बोल्दै उनले ईपीजी प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन् । सो प्रतिवेदन बुझ्न भारतले आनाकानी गर्दै आएकाले बैठकमा सांसदहरुले चासो राखेका थिए।

६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी

विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन्।

डा केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याउन माग गरेका छन् ।

विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमायाे

विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ।

प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो। त्यस्तै विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो।

तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।

उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दियाे

उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दिएको छ। दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन्सिकले पत्रकारहरूलाई यस्तो बताएका छन्।

उनका अनुसार सेप्टेम्बरयता उत्तर कोरियाले रुसतर्फ दशौं लाख तोपगोला बोकेका ६ हजार ७०० ओटा कन्टेनर पठाएको थियो। रुस युक्रेनबीच अहिले युद्ध जारी छ।

बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्रै जोड्न सक्यो ।नेपाललाई अन्तिम ओभरको ४ बलमा ५ रन चाहिएको थियो, क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र करण केसी।

दीपेन्द्रले ओभरको पहिलो र दोस्रो बलमा चौका र छक्का प्रहार गरिसकेका थिए । तर, १९औं ओभरको तेस्रो बलमा करण ११ रनमा रनआउट हुन पुगे। त्यसपछि अर्को बलमा भ्यान्डर मेर्वेले ६३ रन जोडिसकेका दीपेन्द्रलाई बोल्डआउट गरिदिए।

त्यसपछि खेल नेदरल्यान्डको हातमा पुग्यो । योसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ हिजो भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

Logo