राष्ट्रिय सभा अध्यक्ष विवादले गठबन्धन फुट्ने संकेत, अदालतलाई पत्याएन अख्तियारले [भिडियाेसहित]

राष्ट्रिय सभा अध्यक्ष विवादले गठबन्धन फुट्ने संकेत, अदालतलाई पत्याएन अख्तियारले [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

राष्ट्रिय सभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेसँगै राजनीतिक वृत्तमा तरंग

सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेसँगै राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीको बुधबारको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको थियो।

यस निर्णयले राजनीतिक वृत्तमा आशंकाको बीउ रोपेको हो । राष्ट्रिय सभामा कोसी प्रदेशमा कांग्रेसले घात गरेको निष्कर्षमा पुगेको माओवादीले गठबन्धन परिवर्तनको प्रयास गरेको आशंका पनि सुरु भएको छ। तर, गठबन्धन भत्काउने योजनामा रहेको एमालेका नेताहरु भने माओवादीको निर्णयमा सहकार्यका लागि विस्वस्त हुने आधार भने तत्काल देख्दैनन्।

मन्त्रालयहरुले प्रधानमन्त्रीले दिएका निर्देशनहरु पालना र कार्यान्वयन भए नभएकोबारे जानकारी दिन आलटाल

मन्त्रालयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका निर्देशनहरु पालना र कार्यान्वयन भए नभएकोबारे जानकारी दिन आलटाल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘फलोअप’ गर्दा समेत निर्देशन कार्यान्वयनबारेको विवरण दिन अधिकांश मन्त्रालयहरुले अलमल गरेका हुन्।

अहिलेसम्म खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मात्रै प्रधानमन्त्री कार्यालयमा निर्देशन कार्यान्वयनको अवस्थाबारे कार्यालयमा रिपोर्ट पठाएका छन् । बाँकीले पठाएका छैनन् ।

किसान–मजदुर संघर्ष समितिले काठमाडौंको भृकुटीमन्डपदेखि बालुवाटारसम्म सिठ्ठी जुलुससहित गर्याे मार्चपास

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको भृकुटीमन्डपदेखि बालुवाटारसम्म सिठ्ठी जुलुससहित मार्चपास गरेको छ। पीडितहरू बिहीबार सिठ्ठी बजाउँदै भृकुटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगेका हुन्।

मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो। तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गरेको हो ।

काठमाडौँ महानगरले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ ।यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ ।

यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने जनाइएको छ। भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।यसका लागि कामपाले रु ५० लाख उपलब्ध गराउनेछ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा गरे विरोध प्रदर्शन

प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा काठमाडौंको तीनकुनेमा प्रदेशको नाम कोशी राखेको दिनलाई कालो दिनको रूपमा विरोध जनाउँदै प्रदर्शनगरेको हो।

कोशी प्रदेशका १४ वटै जिल्लामा पनि कोशी नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन भइरहेको छ ।प्रदेशसभाले एक वर्षअघि आजकै दिन प्रदेशको नाम कोशी राखेको थियो । त्यसपछि प्रदेशको नाम फेर्न विवाद भइरहेको छ ।

हाँस्यव्यंग्य कलाकार पवन खतिवडा म्याकुरीको वैवाहिक सम्बन्ध विघटनको लगभग संघारमा

हाँस्यव्यंग्य कलाकार पवन खतिवडा म्याकुरीको वैवाहिक सम्बन्ध विघटनको लगभग संघारमा पुगेको छ। लामो समयको आपसी कलहपछि उनीहरु दुवै डिभोर्सका लागि तयार भएका छ। पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए। सुम्निमा भने त्यसका लागि तयार थिइनन्।

केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास पनि गरेका थिए। तर, अहिले उनीहरु दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने भद्र सहमति गरेका हुन्। निकट स्रोतका अनुसार आइतबार उनीहरुको डिभोर्स केस फाइल हुन सक्ने छ।

भरतपुर भ्रमण वर्ष प्रधानमन्त्री प्रचण्डआउने भएपछि विद्यालय बन्द गर्न भएको पत्राचारको सर्वत्र आलोचना

चितवनको भरतुपर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि विद्यालय बन्द गर्न भएको पत्राचारको सर्वत्र आलोचना भएको छ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रममा महानगरले वडा कार्यालयसँग समन्वय गरी कक्षा ९९१२ मा अध्ययनरत छात्रछात्राहरू र माध्यमिक तहका शिक्षकहरू वडास्तरको न्यालीमा विद्यालयको व्यानरसहित उपस्थित हुन निर्देशन दिएको थियो। भरतपुर महानगरकी मेयर रेणु दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्। त्यसलाई जोडेर आलोचना भइरहेको छ।

दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काए

दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुर, कैलालीलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् ।

किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् । किसानहरूको प्रदर्शनका कारण केहीबेर राजमार्ग पनि बन्द भएको थियो । किसानहरूले ’मिल्क होलिडे’ अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारले विशेषबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ती हानिनोक्साी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको हो।

प्रहरी निरीक्षक नृपबहादुर बोहरा र डोटीको बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद प्रतिवादी रहेको मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो ।

संघीय संसद् सचिवालयले बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट फिर्ता माग्याे

संघीय संसद् सचिवालयले बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट फिर्ता मागेको छ। यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यलाई सचिवालयले राहदानी बुझाउन आग्रह गरेको हो।

संघीय संसद् सचिवालयमार्फत राहदानी फिर्ता गर्न चाहनेलाई आगामी चैत १९ गते भित्र संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा बुझाउन भनिएको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सिमित भएको छ।

आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो। कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ।

चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक

चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ। तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले जनाएको छ। यद्यपि यसले काम गर्न भने थालेको छ।

Logo