बाँसबारी प्रकरणमा फाइल झिकाउन सर्वोच्चको आदेश, नेपालकाे जितसँगै फाइनल पुग्ने सम्भावना जीवितै [भिडियाेसहित]

बाँसबारी प्रकरणमा फाइल झिकाउन सर्वोच्चको आदेश, नेपालकाे जितसँगै फाइनल पुग्ने सम्भावना जीवितै [भिडियाेसहित]

केन्द्रबिन्दु
28
Shares

बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतकाे आदेश

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो।

सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन सुरू भएयता सरकारका नाममा पाँचौं पटक तोकेर गर्याे रुलिङ

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन सुरू भएयता सरकारका नाममा पाँचौं पटक यही २१ गते बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गरेका छन्।

आज प्रतिनिधिसभाको बैठक सुरू हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कारवाही अवरुद्ध गर्ने प्रयास गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन् ।

शालिन हत्याकाे कारवाही गर्न भावविह्वल पिता दीपेन्द्र पोखरेकाे माग

१४ वर्षीय छोरीको आत्महत्या भनिएको घटनाकोअनुसन्धान गरी दोषीलाई कारवाही गर्न भावविह्वल पिता दीपेन्द्र पोखरेले माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उक्त घटनाको सत्यतथ्य छानविन गर्न पिता पोखरेलले माग गरेका हुन्।

महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधी पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ। महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधी पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ।

४ वडा कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको भेटिएपछि ३ प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरेको महानगरले जनाएको छ।

अनियमिततामा मुछिएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनसक्ने सम्भावना

विभिन्न अनियमिततामा मुछिएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनसक्ने सम्भावना बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायरको अन्तिम तयारी गरिरहँदा अर्याल राजिनामाको मनस्थितिमा पुगेको स्रोतले दाबी गरेको छ। भ्रष्टाचारमा संलग्न शक्ति प्रयोग गरेर नै अर्याल मुख्य सचिव बनेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।

देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थाल्याेः अर्थमन्त्री

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन्। उनले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताएका हुन्।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताएका हुन्।

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष सुरू

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष सुरू भएको छ। नारायणी नदी किनारमा विशाल तयारीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण वर्ष उद्घाटन गरेका हुन्।

भ्रमण वर्षले भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न कोशेढुंगा सावित हुने अपेक्षा गरिएको मेयर रेनु दाहालले बताएकी छिन्।

मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो।

काठमाडौंको मुख्य सडकहरुमा राखिएका पुरानो सोलार बत्तीको ठाउँमा नयाँ राखिने

काठमाडौंको मुख्य सडकहरुमा राखिएका पुरानो सोलार बत्तीको ठाउँमा नयाँ राखिने भएको छ। काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा राखिएका पुराना सोलार बत्ती हटाएर आधुनिक बत्ती राख्न लागिएको हो। बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग

पूर्वाञ्चल विश्वविद्यालय (पूविवि)को उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग राखेका छन्। संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र दिंदै यस्तो माग गरेको हो।

मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्यायाे

मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ। अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई आजदेखि २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ। मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ।

बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाकाे मृत्यु

बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन्। यस्तै उक्त घटनामा २२ जना गम्भीर घाइते भएका छन्। राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार गरिएको छ।

एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो। ग्यास लिक भएका कारण आगलागी भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेको खबरमा उल्लेख छ।

त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई गर्याे पराजित

त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ। नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय७७ रन जोड्न सक्यो।

यस जितसँगै नेपालले २ अंक जोडेको छ। नामिबियाको पनि समान २ अंक छ। नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ। अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ। आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्। फाइनल मंगलबार हुनेछ।

Logo