गृहमन्त्री रविलाई पहिलो दिनमै लाग्यो झट्का, संसदमा प्रचण्ड-कांग्रेसबीच चल्यो जुहारी [भिडियाेसहित]

गृहमन्त्री रविलाई पहिलो दिनमै लाग्यो झट्का, संसदमा प्रचण्ड-कांग्रेसबीच चल्यो जुहारी [भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सांसदबीच संसदमा जुहारी

हालै नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समिकरणमा लागेका नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सांसदबीच संसदमा जुहारी चलेको छ।

एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएपछिको पहिलो संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले प्रदेश, प्रतिनिधिसभा निर्वाचनदेखि राष्ट्रियसभा निर्वाचनसम्म माओवादीलाई अन्तर्घात गरेको आरोप लगाएका हुन्।

कोशी प्रदेशमा माओवादीविरुद्ध गरेको विद्रोहदेखि गठबन्धनको निन्दा गर्दै महासमिति बैठकमा गठबन्धनविरुद्ध निष्कर्ष निकालिएको आरोप पनि लगाए। माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको उनको गुनासो थियो । कांग्रेसका सांसदहरुले हराएको प्रधानमन्त्री संसदमा भेटिएको भन्दै व्यंग्य पनि गरेका थिए।

रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोप्रति जवाफदेहिता निगरानी समितिकाे आपत्ति

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ।

विहीबार समितिले विज्ञप्ति जारी गर्दै सहकारी जस्तो गम्भीर विषयमा पीडितले दिएको उजुरीमाथि नेपाल प्रहरीले गरिरहेको अनुसन्धानको दायरामा परेका लामिछानेलाई उक्त छानबिन एवं अनुसन्धान टुंगो नलाग्दै दोस्रोपटक नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएकोप्रति आपत्ति जनाएको हो।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ। उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन्।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ। वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ। बुधबार भएको मन्त्रीपरिषद् विस्तारमा भने जसपाले मन्त्रीको नाम दिएको थिएन ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले गर्याे अस्वीकार

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अहायोले अस्वीकार गरेको हो । योसँगै नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठले निरन्तरता पाएकी छन्।

निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध बालेनले दायर गरेको रिट सर्वोच्च अदालतले गर्याे खारेज

निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज हुने ठहर गरेको हो।

आयोगले तोकेको जरिवाना सरकारको सिफारिसमा राष्ट्रपतिले मिनाह गरिदिएकाले उक्त रिटको औचित्य समाप्त भएको ठहर गर्दै संवैधानिक इजलासले रिट खारेज गरेको हो।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध किटानी जाहेरी दर्ता

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ । नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको हो ।

केही साता अगाडि नै जाहेरी आएता पनि दर्ता भने आज भएको हो । जनता समाजवादी पार्टीमा आबद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए।

३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई अगाडि बढाइने

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार बसेको ४०औँ बैठकले सो निर्णय गरेको एमसिए–नेपालले जनाएको छ । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले लगाए खोप

सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन्।

५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाले जानकारी दिएको छ ।

अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ अर्थात शरीरमा जडित प्रहरी परिचालन

जिल्ला प्रहरी परिसर काठमाडाैँले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ अर्थात शरीरमा जडित प्रहरी परिचालन गरेको छ ।

शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । पहिलो चरणमा काठमाण्डौ जिल्लाभरिका ६० टोलीलाई डिजिटल प्रविधिसहित परिचालन गरेको जानाएको छ ।

बिहीबार सुनको भाउ हालसम्म्कै उच्च

नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउदै अहिलेसम्मकै उच्च भएको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो।

नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भएको छ।

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानी जहाजमा आक्रमण गर्दा तीन जनाको मृत्यु

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ। जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका बीबीसीको खबरमा उल्लेख छ।

जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन् । उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालकाे भारतसँग लज्जास्पद हार

घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । योसँगै नेपाल फाइनल पुग्न असफल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो।

नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ र बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुने छ ।

Logo