गृहमन्त्री रवि लामिछानेको स्टाटसले मच्चियो हलचल, प्रचण्डसँग सजग रहन ओलीको निर्देशन [भिडियाेसहित]

गृहमन्त्री रवि लामिछानेको स्टाटसले मच्चियो हलचल, प्रचण्डसँग सजग रहन ओलीको निर्देशन [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

चेक लिस्टसहित आएका छाैँः रवि लामिछाने

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु चेक लिस्टसहित आएको र कुनै कम्प्रोमाइज नहुने बताएका छन्। त्यसका लागि आफूहरु केही समय होमवर्कमा रहने उनको भनाई छ।

चार सय पाँच दिनपछि उपप्रधान तथा गृहमन्त्रीका रूपमा पुनरागमन भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका लामिछानेले शुक्रबार शिवरात्री र नारी दिवसको शुभकामना दिँदै यस्तो बताएका हुन्।

गृहमन्त्री लामिछानेको काँधमा अहिले सहकारीका वचतकर्ताको रकम हिनामिना प्रकरणमा फरार रहेका ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राईलाई पक्राउ गर्नु रहेको छ। यस प्रकरणमा उनी आफैं पनि मुछिएका छन्।

प्रचण्डसँग सजग रहन ओलीको निर्देशन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन्। मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिँदै उनले भने,‘फसाइदेलान् होस् गर्नु। सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो। सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ।’ निर्देशन दिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भनेका छन्। हाल एमाले रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा छ।

शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्न स्वदेशी र विदेशी गरी लाखौं संख्यामा दर्शनार्थी पाशुपत क्षेत्र पुगे

महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाआराधना गरी देशभर मनाइएको छ। शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्न स्वदेशी र विदेशी गरी लाखौं संख्यामा दर्शनार्थी पाशुपत क्षेत्र पुगेका थिए।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिएका थिए। तर पनि भीड भने घटेको थिएन। भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको थियो। शिवजी उत्पत्ति भएको रातको रुपमा शिवरात्री पर्व मनाउने प्रचलन छ।

शिव पुराणमा उल्लेख भए अनुसार चार रात्री कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रीमध्ये एक पवित्र रात्री शिवरात्री हो। यस दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

नेपाली सेनाले मनायाे २६१ औँ सेना दिवस

नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए । त्यसअघि सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ।

आन्दोलनमा ज्यान गुमाएका दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित

सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो। प्रकाशित नामावली अनुसार सबैभन्दा बढी कालिकोटमा २७१ जना र दोस्रोमा रोल्पामा ३६९ सहिद रहेका छन्।

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा आगजनी

दार्चुलाकाे मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा राति करिब पौने २ बजे ढुंगामुढा र आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीका अनुसार अज्ञात समूहले ढुंगा प्रहार गर्दा झ्यालका सिसाहरू फुटेका छन्।

त्यस्तै निवासमा रहेका पर्दा, किताब, बेड, ल्यापटप लगायतमा क्षति पुगेको छ । आगजनी गरी अज्ञात समूह फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्रमुख प्रशासकीय अधिकृत भण्डारी भने सुरक्षित छन्।

काठमाडाैँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिए

काठमाडाैँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन्।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९-८० मा महानगरभित्र मात्रै एक सय १० कुष्ठरोगका बिरामी भेटिएका हुन्।

भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिलालाई विमानस्थलबाट फर्काइयाे

भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिलालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइ गरिएको थप अनुसन्धाका क्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि उनिहरुलाइ विमानस्थलबाट फर्काइएको हो। उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए।

कोशी सरकार परिवर्तनको खेल सुरु भए संसद नै नटिक्ने मुख्यमन्त्री कार्कीकाे चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार परिवर्तनको खेल सुरु भए संसद नै नटिक्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गरेका हुन्। संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको उनको जिकिर छ।

चालु आर्थिक वर्ष २०८० र ०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात

चालु आर्थिक वर्ष २०८० र ०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो।

गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो।

नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको गर्याे अपहरण

नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ। नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेको बीबीसीले जनाएको छ।

बिहान विद्यालयको प्राथना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरुका अनुसार अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको छ।

महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छिन्। नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने भएकी छिन्।

प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन्। तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो । किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन्।

Logo