सुहाङलाई इलाममा रास्वपाले टक्कर दिने, रुसी सेनामा भएका नेपालीहरुको भारतसँग हारगुहार [भिडियाेसहित]

सुहाङलाई इलाममा रास्वपाले टक्कर दिने, रुसी सेनामा भएका नेपालीहरुको भारतसँग हारगुहार [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

रास्वपाले इलाम –२ मा हुने उपनिर्वाचनमा भाग लिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम –२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको हो।

बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन । नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो ।तर, आज उक्त निर्णय गरेको हो।

प्रधानमन्त्रीले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

सरकारमा सहभागी भएको एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र विश्वासको मत दिने भएको छ ।

सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्नो मागमा प्रधानमन्त्री सहमत भए मात्रै राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतको बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। बुधबार (पर्सि ३०) गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ।

त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा सोमबार दिएको सार्वजनिक बिदा विवादमा तानियाे

संघीय सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसार (नयाँ वर्ष) का अवसरमा सोमबार दिएको सार्वजनिक बिदा विवादमा तानिएको छ।

ल्होसार एक महिनाअघि नै मनाएकाले सोमबारको बिदाको कुनै अर्थ नरहेको भन्दै बौद्धमार्गीहरूले विरोध गरेका हुन् । शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले क्यालेण्डरमा बिदा दिएको उनीहरुको आरोप छ। तिथिअनुसार माघ २७ गते नै शेर्पा समुदायले सोनामसँगै २१५१ औं ग्याल्पो ल्होसार मनाएको थियो।

ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन

ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १०मा ११ औं पटक स्वतन्त्र रुपमाउम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन्। वडामा उनी धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन्।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ। आज सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला पनि बाहिरिएको छ।

तर दलका नेता हरिबहादुर चुमानले अहिले माओवादीले नेतृत्व पाउनुपर्ने अडान राखेका छन्। माओवादीकै समर्थनमा २ कार्यकाल एमाले र २ कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ।

भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए।

भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो। लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको हो।

रुसी सेनामा भर्ती भएर बिचल्लीमा परेका नेपालीहरुकाे एक भिडियो सन्देश सार्वजनिक

रुसी सेनामा भर्ती भएर बिचल्लीमा परेका नेपालीहरुले एक भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियो सन्देशमा रुसस्थित नेपाली दूतावासले सहयोग नगरेको भन्दै हिन्दीमा सम्बोधन गरेर उनीहरुले छिमेकी मुलुक भारतसँग सहयोगका लागि अपिल गरेका छन्।

पाँच नेपाली युवाहरूले आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन्। आफूहरूलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारबाट कुनै सहयोग नभएको उनीहरुको गुनासो छ।

कर्मचारी समायोजन र कर्मचारीको बढुवा तथा लोकसेवाका विषयसँग बढी मुद्दा दर्ता

सरकारविरुद्धका मुद्दामध्ये ५० प्रतिशत भन्दा बढी कर्मचारीका सेवा सुविधामा केन्द्रित रहेको मुख्य न्यायाधिवक्ता कार्यालयले जनाएको छ। कर्मचारी समायोजन र कर्मचारीको बढुवा तथा लोकसेवाका विषयसँग बढी मुद्दा दर्ता भएका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले बताए। प्रदेश सरकार स्थापना भएदेखि हालसम्म २ सयभन्दा बढी मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष ०७५-०७६ मा १९ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो वर्ष पनि १९, २०७७-०७८ मा ३३ वटा मुद्दा दर्ता भएका थिए। २०७८-०७९ मा ३५ र २०७९-०८० मा ५६ मुद्दा दर्ता भएको रेकर्ड सरकारसँग छ।

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

मुसिकोट नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।

नगरपालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि यस्तो निर्देशन गरेको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाभित्र १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेका छन्।

इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर

इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल भएपछि इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर थपिएको छ।

मार्च ११ देखि सुरु हुने रमजान पर्वको अवसरमा हमासले प्यालेस्टाइनीहरूलाई अल–अक्सा मस्जिदको भ्रमण गर्न आह्वान गरेको छ । तर इजरायलले हमासलाई रमजानको समयमा यस क्षेत्रलाई प्रज्वलित गरी नियन्त्रण गर्न खोजेको आरोप लगाएको बीबीसीले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको साेमबार उद्घाटन भएको छ। गएको जेठ ३० गते शिलान्यास भएको क्रिकेट मैदान ९ महिनामै निर्माण सम्पन्न भएको हो।

गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले मैदान निर्माणमा अहिलेसम्म १० करोड रुपैयाँ खर्च गरेका छन्। आज भएको खेलमा पारस खड्का नेतृत्वको सन् २०१४ विश्वकप लिजेण्ड्स र बिनोद दास नेतृत्वको रेष्ट अफ विजयी भएका छन्। यी दुई टोलीबीच नै फाइनल खेल हुनेछ। फाइनल खेल सोमबार अपरान्ह हुनेछ।

Logo