प्रहरीलाई फकाउँदै रवि लामिछाने, व्यवसायीहरुलाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन [भिडियाेसहित]

प्रहरीलाई फकाउँदै रवि लामिछाने, व्यवसायीहरुलाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन [भिडियाेसहित]

केन्द्रबिन्दु
28
Shares

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्। आज भएको राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्।

राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा जम्मा ५६ भोट खसेको थियो। जसमध्ये दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो। माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ मत प्राप्त गरे। यता कांग्रेसका शर्माले भने कांग्रेसको १६ र लोसपाको एक गरी १७ मत मात्रै प्रांप्त गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ ग्रहण गरिसकेका छन्।

गठबन्धन आफूहरूले फुटाएको ओलीकाे दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको गठबन्धन आफूहरूले फुटाएको बताएका छन्। मंगलबार संघीय संसदको ल्होत्से हलमा बसेको पार्टी संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले कहाँ चीनलाई जस दिइरहेको भन्दै कटाक्ष गरे। कमसेकम यति जस त दिनूस्, यत्रो मिहिनेत गरेर बनाएको पनि उनले भने। गठबन्धन द्रोणचार्यका छोरा अस्वथामा जस्तै चिरञ्जीवी रहेको घटक दलहरूले सोच्ने गरेको पनि उनले बताए।

सत्ता गठबन्धनका पाँच दलबीच मङ्गलवार सात बुँदे सहमति

सत्ता गठबन्धनका पाँच दलबीच मङ्गलवार सात बुँदे सहमति भएको छ। यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो।

बैठकले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको छ।

गैरकानूनी काम गरे कारवाही गर्न कसैको आदेश नपर्खिन राष्ट्रसेवक प्रहरीलाई रवि लामिछानेकाे अनुरोध

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कुनैपनि ब्यक्ति वा समूहले गैरकानूनी काम गरे कारवाही गर्न कसैको आदेश नपर्खिन राष्ट्रसेवक प्रहरीलाई अनुरोध गरेको छ। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले सो आग्रह गरेका हुन्।

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नुपर्दैन,’ उनले भनेका छन्। त्यस्ता काममा संलग्नहरूलाई ऐन पल्टाउन र कानुनी राज्य देखाइदिन उनले भनेका छन्।

पर्सामा सुनको सिक्री नदिएको भन्दै जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ

पर्सामा सुनको सिक्री नदिएको भन्दै जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । उनी वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटरसमेत हुन् ।

विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुलालाई साहसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनले १२ लाख र मोटरसाइकल भने लिइसकेका थिए।

प्रधानमन्त्रीले जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको कांग्रेसकाे आरोप

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् ।

कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअर्थमन्त्री महतले प्रचण्डले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाएका हुन्। प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीनपटक सत्ता सहकार्य फेरेकोमा आक्रोश पनि व्यक्त गरे।

जनमत पाटीले इलाम क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ को क मा उम्मेदवारी दिने

जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ को क मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

जनमत पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द

सोमबार ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ।आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ।

टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ । सोमबार वीरगञ्जबाट पश्चिमतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा समेत क्षति गरेको हो।

व्यवसायीको मनोबल उठाउने गरी काम गर्न अर्थमन्त्री र गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न अर्थमन्त्री र गृहमन्त्रीलाई निर्देशन दिएका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले आफूहरूलाई प्रधानमन्त्रीले व्यवसायीलाई त्रसित नबनाउन र मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताएका हुन्। आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए।

वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारी रंगेहात पक्राउ

वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई रंगेहात पक्राउ गरेको हो। सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

शेयर बजार मंगलबार उच्च अङ्कले बढ्याे

शेयर बजार मंगलबार उच्च अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ।

मंगलबार सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। आज एक करोड छ लाख कित्ता शेयर चार अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो।

इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी

इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी छ। रमजानअघि युद्धविराम हुने अपेक्षाका साथ मध्यस्तकर्ताले गरेका सबै प्रयास असफल भएको छ।

युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ। यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन्।

टी–२० शृङ्खलामा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट गर्याे पक्का

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गरेको हो।

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गरेको हो। आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो। फाइनल खेल भोलि हुनेछ।

Logo