सुन तस्करी प्रकरणमा गृहमन्त्री रविले लिए एक्सन, कोरियाले थप ३ क्षेत्रमा नेपाली श्रमिक लैजाने [भिडियाे]

सुन तस्करी प्रकरणमा गृहमन्त्री रविले लिए एक्सन, कोरियाले थप ३ क्षेत्रमा नेपाली श्रमिक लैजाने [भिडियाे]

केन्द्रबिन्दु
84
Shares

साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझायाे

गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ।

मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो। प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने प्रतिबद्धता जनाएका छन्।

राप्रपा नेपालले विभिन्न मागसहित गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले गर्याे लाठीचार्ज

राप्रपा नेपालले विभिन्न मागसहित गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। कमल थापा नेतृत्वको र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो।

सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो। तर, र्याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो। केहीबेरपछि प्रहरीले स्थितीलाई नियनत्रणनमा लिएको थियो।

गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ।

कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन्। बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

ईपीएसमार्फत दक्षिण कोरियाले थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिने

दक्षिण कोरियाले यो वर्ष सन् २०२४देखि रोजगार अनुमति प्रणाली ईपीएसमार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ।

कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो। अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको छ।

भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो।

आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने

आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ।

आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुनेछ। इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङ्गको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ।

लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन्। वैवाहिक सम्बन्धबिनै जन्मिएका बच्चाले कानूनी मान्यता पाउने भएपनि लिभिङ टुगेदरलाई सम्बोधन गर्ने कुनै कानून नभएको जिकिर रिट निवेदकका रहेकोे छ।

प्रशासकीय अधिकृतमाथि कुटपिट

डडेल्धुराको परशुराम नगरपालिकाको बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न डाँकिएको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ।

देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा गरे प्रदर्शन

देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन्।

पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लेकार्ड बोकेका थिए। करिब ६०१ सहकारी संस्थाका पीडितहरू न्याय माग्न काठमाडौँमा जम्मा भएका छन्।

विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन मन्त्री श्रेष्ठकाे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छन्। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताएकी हुन्।

उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गरेकी थिइन्।

धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको १४ जना सवार जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्याे

धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको १४ जना सवार जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

को १ ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो। घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पठाइएको छ। ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

शेयर बजार परिसूचक नेप्से बिहीबार घट्याे

शेयर बजार परिसूचक नेप्से बिहीबार २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ। सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार हुदा एक करोड १४ लाख कित्ता शेयर किन बेच भएको छ।

कुवेतमा गाडीले ठक्कर दिँदा तीन जना नेपाली नागरिकको मृत्यु

कुवेतमा गाडीले ठक्कर दिँदा तीन जना नेपाली नागरिकको ज्यान गएको छ। रमदान पर्वको पहिलो दिन सोमवार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा एउटा कारले ठक्कर दिँदा तीन जनाको ज्यान गएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले बताए।

ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन्। मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए।

टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधारे

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन्। रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन्।

यसअघि उनी ५५औँ स्थानमा थिए। रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन्। रोहित शर्मा ५१औँ स्थानमा छन्। भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन्।

Logo