सुन तस्करीमा माओवादी नेता नै मुछिए, कसैको प्रभावमा नपर्ने गृहमन्त्रीको प्रतिबद्धता [भिडियाेसहित]

सुन तस्करीमा माओवादी नेता नै मुछिए, कसैको प्रभावमा नपर्ने गृहमन्त्रीको प्रतिबद्धता [भिडियाेसहित]

केन्द्रबिन्दु
140
Shares

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएसँगै गृहमन्त्री रवि लामिछानेले दोषीलाई कारबाही गर्न एक्सनमा उत्रिए

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएसँगै गृहमन्त्री रवि लामिछानेले दोषीलाई कारबाही गर्न एक्सन लिएका छन्।

उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । आयोगले बुझाएको प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ।

जाँचबुजकै क्रममा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको चिनियाँ सुन तस्करसँग निकट सम्बन्ध देखिएको छ। साथै आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य लगायतलाई पनि कारबाहीको सिफारिस गरेको छ।

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौंमा न्याय माग्दै लामो समयदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको वार्तामा पीडित र सरकारबीच ६ बुँदे सहमति भएको हो।

सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी व्यवस्थाका लागि राष्ट्र बैंकलाई सिफारिस गर्न अनुरोध गर्नेलगायतका विषय समेटिएको छ। योसँगै आन्दोलनका कार्यक्रमहरु स्थगन भएका छन्।

डटेर काम गर्ने गृहमन्त्रीकाे दावी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सहकारी प्रकरणमा जोडिएको भन्दै पदबाट राजीनामाको माग गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू कति दिन गृहमन्त्री हुने थाहा नभए पनि डटेर काम गरिराख्ने बताएका छन्।

मलाई यो शक्ति नेपाली जनताले दिएको र जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको उनको भनाई छ। उनले भने,‘कतिदिन हुन्छु मलाई थाहा छैन। जतिदिन हुन्छु डटेर, नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु।’ उनले सुन प्रकरणको अनुसन्धानमा प्रभाव हुन नदिने पनि बताएका छन्। कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

रौतहटमा गोली प्रहार

मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ। परोहा नगरपालिका–९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो।

कार्यालयमा बसिरहेको समयमा साहको टाउकोमा गोली प्रहार भएको र हाल उपचारको लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।

दुग्ध किसानलाई भुक्तानी

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो।

बाँदर नियन्त्रण तालिममा सहभागी हुन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरको टोलीलाई विदाई

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागी हुन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरको टोलीलाई विदाई गरेको छ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा भएको बिदाई कार्यक्रममा समिति सभापति डा.आरजु राणा देउवाले, बाँदरलाई मार्नु नै उचित समाधान नरहेको उल्लेख गर्दै तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रह समेत गरिन्।

युएई पुगेका १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र

प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्।

धन कमाउने सपनामा ऋण काढेर विदेश पुगेका विभिन्न जिल्लाका उनीहरु अलपत्र परेका हुन्। उनले म्यानपावरबाट साँवा–ब्याज फिर्ता हुने गरी उद्धारको पहल गरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरिरहेका छन्।

सरसफाइ कर्मचारीका काममा लगाउने भन्दै ती युवालाई फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नुर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो। अलपत्र परेका नेपालीमध्ये १२ जनालाई सार्जा सेफजोन भन्ने ठाउँमा गोदामजस्तो घरमा राखेको बताइएको छ। अन्य सात युवा अन्यत्र राखिएका छन्।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ। एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन्।

गठबन्धनकै निर्देशनअनुसार अघि बढ्ने भन्दै उनले एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने नभनेको बरु सहमति गरेर अगाडि बढ्न सकिने उल्लेख गरे। सहमतिअनुसार एमालेको भागमा कोशी प्रदेश परेको अवस्थामा हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने उनको भनाइ छ।

स्टाफ नर्स मृत फेला

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत फेला परेकी छन्। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दास मृत फेला परेकी हुन्।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो शव फेला परेको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट छ। त्यसकारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिए

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन्। जसअनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०÷८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ। नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन्।

फ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गयाे

भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गएको छ।

डुङ्गामा रहेका २५ जना आप्रवासीलाई बचाइएको बीबीसीले जनाएको छ। उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो।

उनीहरु गएको शुक्रवार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएका थिए। तीन दिनको यात्रापछि रबरको डुङ्गाको इन्जिन फेल भएको खबरमा उल्लेख छ।

नेपाली महिला फुटबल टिम पाँच स्थान सुधार गर्दै १०० स्थानमा उक्लियाे

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको छ। यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो।

नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औँ स्थानसम्म रहेको थियो। त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो।

Logo