इपिएस परीक्षाको नतिजा सार्वजनिक, रवि लामिछानेको खेदो खन्ने कांग्रेसमाथि रास्वपाले राख्यो शर्त [भिडियाेसहित]

इपिएस परीक्षाको नतिजा सार्वजनिक, रवि लामिछानेको खेदो खन्ने कांग्रेसमाथि रास्वपाले राख्यो शर्त [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

उजुरी पर्दैमा पदबाट राजीनामा दिन्नः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्।नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबीन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पारेपछि सञ्चारकर्मीहरुसँग गृहमन्त्री लामिछानेले यदी भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त राखे। आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको उनको भनाई छ। कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहँदा रास्वपाले भने २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने काउन्टर माग अघि सारेको छ।

४० बुँदे मागसहित राप्रपाकाे गणतन्त्र विरोधी प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबार काठमाडौंमा गणतन्त्र विरोधी प्रदर्शन गरेको छ। सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट सुरु भएको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। सो क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू आन्दोलनबाट पछि नहट्ने र यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पाण्डे पुगे सर्वोच्च

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो। मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ।

राष्ट्रिय सभाको उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको उपाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ। एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन्। चैत २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको थियो। घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ छ भने पुडाशैनीलाई कांग्रेसको मात्र साथ छ। राष्ट्रिय सभामा हाल सत्ता गठबन्धको बहुमत रहेको छ।

उपनिर्वाचनका लागि इलाम र बझाङमा बुधबारदेखि आचारसंहिता लागु

उपनिर्वाचन नजिकिएसँगै बुधबारबाट इलाम र बझाङमा आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ।

निर्वाचन कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्याे

आगामी वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको हो। उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी परेन।

सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई असर नगर्न आग्रह

सोमबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दलले अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने नयाँ कार्यक्रम स्विकृत नगर्न, योजना काट्न र कर्मचारीको सरुवा नगर्न आग्रह गरेको हो। मुख्यमन्त्री कार्की भने विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा छन्।

इपिएस परीक्षाको नतिजा सार्वजनिक

दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको इपिएस परीक्षाको नतिजा सार्वजनिक भएको छ।प्रकाशित नतिजा अनुसार ६ हजार ३२१ जना उर्तीण भएका छन्। ९२.५ प्रतिशतभन्दा अंक ल्याउने उर्तीण भएका हुन्। पहिलो चरणको परीक्षामा ४७ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए।

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा मंगलबारबाट सुरु

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा मंगलबारबाट सुरु भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो। नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ।

उपत्यकामा ४० वटा बिजुली बस सञ्चालनमा

साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडाैँ उपत्यकामा ४० वटा बिजुली बस सञ्चालन सुरु गरेको छ। यसका लागि आवश्यक २० वटा चार्जिङ स्टेशन साझाको हाताभित्र निर्माण भएको छ। यो देशकै सबैभन्दा ठूलो चार्जिङ डिपो हो।बिजुली बस र चार्जिङ डिपोको आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्धाटन गरेका छन्।

मंगलबार शेयर बजार १० अङ्कले बढ्याे

मंगलबार शेयर बजार झन्डै १० अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से मंगलबार नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ। मंगलबार होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। मंगलबार जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ। मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर १८ करोड आठ लाख रुपैयाँमा कारोबार भयो।

इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोल्याे

गएको हप्ता इजरायली आक्रमणबाट पुरानो कन्सुलेट कार्यालय ध्वस्त भएपछि इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोलेको छ। मंगलबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहियानले सिरियाको राजधानी दमास्कसमा नयाँ कन्सुलेट भवनको उद्घाटन गरेका छन्। ध्वस्त भएको पुरानो कार्यालयको छेउमै नयाँ कार्यालय खोलिएको खबरमा उल्लेख छ।इजरायलको मानव संहार र आतङ्कवादी क्रियाकलापलाई सहयोग गर्ने अमेरिकाले पनि गतिलो पाठ सिक्ने गरी छिटै जवाफ पाउने इरानको चेतावनी छ।

एसिसी प्रिमियर कपको लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

एसिसी प्रिमियर कपको लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ। एसियन क्रिकेट काउन्सिलले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो। भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन्। अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन। १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुने प्रिमियर कपको समूह ए मा नेपालसहित मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन्।

Logo