गृहमन्त्री र कांग्रेसको टकरावले संसद्को हिउँदे अधिवेशन अन्त्य, एसीसीमा नेपालको विजयी सुरुवात [भिडियाेसहित]

गृहमन्त्री र कांग्रेसको टकरावले संसद्को हिउँदे अधिवेशन अन्त्य, एसीसीमा नेपालको विजयी सुरुवात [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने

सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने भएको भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो। बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । सोही कारण वैशाख २ गतेसम्मका लागि बैठक स्थगित छ।

कूटनीतिक आचारसंहिता पालनका लागि आग्रह

परराष्ट्र मन्त्रालयले शुक्रबार अन्य मन्त्रालय तथा निकायलाई पत्र पठाउँदै कूटनीतिक आचारसंहिता पालनका लागि आग्रह गरेको छ । नारायणकाजी श्रेष्ठले मन्त्रालय सम्हालेलगतै कूटनीतिक आचारसंहिता लागू गर्न कडाइ गरेका हुन् । अब नेपालमा कुनै पनि कूटनीतिक नियोगका प्रतिनिधि तथा विदेशीलाई जुनसुकै बेला भेट्न सक्ने अवस्था सृजना भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्। ४८ सांसदको मत पाएका मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री महराको विश्वासको मतको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए।

सुरक्षामन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति असन्तुष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन्। कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन।’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरिन्

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन्। पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई तीन महिनाका लागि शुक्रबार निलम्बन गरेकी हुन्। यसअघि संस्थापक अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई संसदीय दलको नेताबाट पनि हटाइएकी थिइन्।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। साथै बैठकले राष्ट्रिय सभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

सुन्तला राष्ट्रिय फल घोषणा

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो । सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल हो।

राष्ट्रपति पौडेलले गरे सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्त्री केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्त्री केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। उक्त विधेयक संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति पौडेलसमक्ष पुगेको थियो। नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको हो ।

नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले निरन्तरता पायाे

नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या अपेक्षित रूपमा समाधान हुन नसकेको भनेर प्रस्तावमा उल्लेखसम्म गरेको, तर के कस्तो तथ्य वा तथ्यांकका आधारमा त्यसो भनिएको हो भन्ने प्रष्ट नभएको इजलासको ठहर छ ।

रोशी गाउँपालिका–५ मा अज्ञात समूहले मध्यरातमा करोडौँ पर्ने बुद्धचित्तको रुख काटे

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ मा अज्ञात समूहले मध्यरातमा करोडौँ पर्ने बुद्धचित्तको रुख काटेका छन्। बुद्धचित्तको उक्त रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । अहिले रुखमा फूल फुल्दै थियो तर, फल्नुअघि नै अज्ञात समूहले रूख काटिदिएका हुन् । उक्त स्थानमा चार थान सकेट बम र नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट भने प्रहरीले फेला पारेको थियो ।

काठमाडौं महानगरले आगामी शैक्षिक सत्रमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता गर्याे विस्तार

काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता विस्तार गरेको छ। महानगरपालिका भित्रका ८७ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता रहेको महानगरको शिक्षा विभागले जनाएको हो। महानगरभित्र सामुदायिक विद्यालयको संख्या ८९ भए पनि २ वटा पुनर्निर्माणको क्रममा रहेकाले ८७ विद्यालयमा भर्ना लिन सकिने विभागले जनाएको छ।

भारतमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सीईओहरुको तलब ४० प्रतिशतले वृद्धि

कोभिड पछि भारतमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सीईओहरुको तलब ४० प्रतिशतले वृद्धि भएको छ। ‘डेलोइट इन्डिया एक्जिक्युटिभ पर्फमेन्स एण्ड रिवार्ड्स सर्वे २०२४’ ले सीईओहरुको औसत तलब १३.८ करोड भारतीय रूपैयाँ बढी रहेको देखाएको हो । उक्त सर्वेक्षणअनुसार प्रवर्द्धक परिवारका सीईओले औसतमा तलब १६.७ करोड भारतीय रूपैयाँ पाउने गरेका छन्।

Logo