क्रिकेटमय वर्ष २०८०ः इतिहास र कीर्तिमानको वर्षा, भारत र पाकिस्तानलाई टक्कर [भिडियाेसहित]

क्रिकेटमय वर्ष २०८०ः इतिहास र कीर्तिमानको वर्षा, भारत र पाकिस्तानलाई टक्कर [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। नेपाली क्रिकेटका लागि वर्ष २०८० निकै खास रह्यो। खेलको प्रदर्शन होस् या खेलाडीको पारिश्रमिक। नेपाली पुरुष क्रिकेट टोलीले घरेलु मैदानमै एसीसी प्रिमियर कपको उपाधि चुम्दै एसिया कपमा छनोट भएर विश्व क्रिकेटका दुई महारथी राष्ट्र भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्यो।

यो नेपाली क्रिकेटको झण्डै तीन दशक लामो क्रिकेट इतिहासको सबैभन्दा ठूलो सफलता थियो। भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट थियो। खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए। पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरूले गतिलो प्रदर्शन गरेका थिए। यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो।

समूहमा ओमानसँग पराजित भएपनि मलेसिया र सिङ्गापुरमाथि सानदार जित दर्ता गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्दी यूएईलाई आठ विकेटले हरायो।

संयोग त के छ भने नेपालले २०८० वैशाख ५ देखि सुरू भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएर सुरू गरेको थियो। वर्षको अन्तिम दिन अर्थात् आज ३० चैतमा नेपालले फेरि एसिया कपमा छनोट हुने र उपाधि जोगाउने लक्ष्यसहित ओमानमा प्रिमियर कपकै अर्को संस्करणको सुरुवात गर्दैछ।

यही वर्ष नेपाली पुरुष क्रिकेट टोलीले आफूभन्दा बलिया राष्ट्रहरूसँग जिम्बाबेमा आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि खेल्यो। तर, नेपाल समूह चरणमा नै रोकियो। नेपालले अमेरिकालाई पराजित गरे पनि वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बाब्वेसँग पराजित भयो। प्लेअफमा यूएईलाई हराएको नेपाल फाइनल प्लेअफमा भने आयरल्याण्डसँग पराजित भएको थियो।

नेपाली क्रिकेटका लागि अर्को सम्झनलायक उपलब्धि त १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट हुनु रह्यो। नेपालले सन् २०१४ पछि पहिलो पटक आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाएको हो।

टी–२० विश्वकपको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता २०८० कात्तिक १३ देखि कात्तिक १९ गतेसम्म नेपालमै आयोजना भएको थियो। प्रतियोगितामा आठ वटा राष्ट्र सहभागी थिए।

समूहमा ओमानसँग पराजित भएपनि मलेसिया र सिङ्गापुरमाथि सानदार जित दर्ता गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्दी यूएईलाई आठ विकेटले हरायो। तर, फाइनलमा भने नेपाली टोली ओमानसँग ‘सुपर ओभर’ मा पराजित हुन पुग्यो।

फाइनलमा पुग्ने दुवै टोली टी–२० विश्वकपमा छनोट हुने प्रावधान रहेका कारण नेपाल उपविजेता रहँदै विश्वकपमा छनोट भयो। सो छनोट प्रतियोगितामा नेपालका व्याट्सम्यान कुशल भुर्तेल र बलरमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन रह्यो। कुशल सर्वाधिक रन बनाउने खेलाडी बन्दा सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा रहे।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। यसै वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानको ओइरो लगायो। यसले झन् देशको गौरव बढायो।

महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने अवसर पायो।

नेपालले मंगोलियालाई २७३ रनको विशाल अन्तरले हराउँदै केही आश्चर्यजनक कीर्तिमान बनाएको थियो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित हो।

यो कीर्तिमान अहिले पनि नेपालकै नाममा छ। टस हारी पहिले ब्याटिङ गर्दै नेपालले तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो। त्यो पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान थियो।

अर्धशतक प्रहारमा दीपेन्द्रसिंह ऐरीले कहिल्यै पनि नतोडिने विश्व कीर्तिमान बनाए। ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए। यस्तै, नेपाली ब्याट्सम्यान कुशल मल्लले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमान बनाएका थिए।

उनले केवल ३४ बलमा शतक पूरा गरेका थिए। तर, यो रेकर्ड नेपालमै खेलिएको खेलमा नामिबियाका जन निकोल लफ्टी एटनले तोडेका थिए। उनले नेपालविरुद्धको खेलमा केवल ३३ बलमा शतक पूरा गरे।

यसैबीच आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा भने यो वर्ष नेपाली टोलीले निराशाजनक प्रदर्शन गर्यो। घरेलु मैदानमै खेलिएको खेलमा नेपालले गतिलो प्रदर्शन गर्न सकेन। लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक शृङ्खला खेलेको थियो। शृङ्खलामा नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्न सक्यो। लिग–२ को यो दोस्रो संस्करण हो। लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ।

नेपाली क्रिकेट खेलाडीको लागि पनि समग्रमा यो वर्ष राम्रै रह्यो। महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने अवसर पायो। बलिया टेस्ट राष्ट्रहरूको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ।

समूहमा भारत र यूएई पनि छन्। साथै रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनिन्। उमेर समूहमा नेपालको पुरुष यू(१९ टोलीले ८ वर्षपछि दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्यो।

अन्तराष्ट्रिय जगतमा छुट्टै छाप छाड्न सफल भएको नेपाली क्रिकेटका लागि नेपाल क्रिकेट सङ्घ क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्र्याक्टमा रहने महिला तथा पुरुष क्रिकेट खेलाडीहरूको वर्गीकरण र खेलाडीसँग सम्झौता पनि गरेको छ। क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ जना खेलाडीसँग केन्द्रीय सम्झौता गरेको हो।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्। उनीहरुको मासिक पारिश्रमिक एक लाख पुगेको छ। यो नेपाली क्रिकेट खेलाडीलाई आर्थिक रुपमा पनि मदबुद बनाउने कदम हो।

ग्रेड ‘बी’ मा रहेका खेलाडीलाई मासिक ७० हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीलाई मासिक ५५ हजार, ग्रेड ‘डी’ मा रहेका खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय क्यानले गरेको छ।

नेपाली पुरुष क्रिकेट टोलीले घरेलु मैदानमै एसीसी प्रिमियर कपको उपाधि चुम्दै एसिया कपमा छनोट भएर विश्व क्रिकेटका दुई महारथी राष्ट्र भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्यो।

महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार, ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक ३० हजार दिइएको छ। यी त भए वित्नै लागेको २०८० सालका उपलब्धी। आगामी २०८१ साल पनि यो उपलब्धीलाई नेपालले निरन्तरता दिन सक्ला त्यो भने हेर्न बाँकी नै छ।

Logo