माधव बिच्किँदा प्रचण्ड र रविको कुर्सी हल्लियो, नेपाल एक खेलअघि नै सेमिफाइनलमा [भिडियाेसहित]

माधव बिच्किँदा प्रचण्ड र रविको कुर्सी हल्लियो, नेपाल एक खेलअघि नै सेमिफाइनलमा [भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा तरंग पैदा

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा तरंग पैदा भएको छ। योसँगै गठबन्धन फुट्ने हो की भन्ने डर पनि सिर्जना भएको छ। प्रचण्ड र ओलीले सुदूर पश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए। तर, उनीहरुले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने सहमति अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेका हुन्। सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपामै विभाजन आएको छ। दाबी पेश गरेको २४घण्टा वितिसक्दा पनि यसबारे अझै निर्णय हुन सकेको छैन।

राप्रपाले गरेको आन्दोलनमा घाइते भएका नेता डाँगीको उपचारका क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको साेमबार उपचारका क्रममा निधन भएको छ। सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा राप्रपा बर्दियाको मधुवन नगरपालिकाका अध्यक्षसमेत रहेका डाँगीको मृत्यु भएको हो। गत साताको मंगलबार राप्रपाको गणतन्त्र र धर्मनिरपेक्षताविरोधी प्रदर्शनमा अश्रुग्यास र पानीको फोहोराबाट डाँगी गमिभर घाइते भएका थिए। अब यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपाको माग छ।

वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार नबन्ने र देश पनि नचल्ने ओलीकाे टिप्पणी

सोमबार एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका छन्। ओलीले कटाक्ष गर्दै भने, ‘वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन। पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ।’ एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने,‘एकता परेका बखत गर्छौं, तर छानेर।’

५ वर्षका लागि प्रतिबन्ध फुकाउन सिफारिस गरिएको विवादास्पद प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई ५ वर्षका लागि प्रतिबन्ध फुकाउन सिफारिस गरिएको विवादास्पद प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ। सो प्रतिवेदनले यातायात समितिहरु ब्युँतिएर सडकमा कमजोर भएको सिन्डिकेट पुनः ब्युँतेने भन्दै आलोचना भइरहँदा नवनियुक्त यातायातमन्त्री रघुवीर महासेठले प्रतिवेदन कार्यान्वयनका लागि पठाएका हुन्। अब यातायात समितिको सिन्डिकेट ब्युँताउने कि नब्युँताउने भन्ने अन्तिम निर्णय गृहमन्त्री रबि लामिछानेले लिनुपर्नेछ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीअधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन्। गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ । सुरूवातमै अल्पमतमा देखिएको गण्डकी प्रदेश सरकारले अदालतले आदेश दिनुअगावै विश्वासको मत लिने तयारी गरेको हो।

बागमती प्रदेशमा मन्त्री व्यवस्थापन गर्न मन्त्रालय विभाजनको तयारी

बागमती प्रदेश सरकारले मन्त्री व्यवस्थापन गर्न मन्त्रालय विभाजनको तयारी गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई विस्तारका क्रममा गत चैत २० गते १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त गरेका थिए। विना विभागीय एक मन्त्री व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्न लागिएको हो। मुख्यमन्त्री जम्कट्टेलका अनुसार विना विभागीय मन्त्री व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइनुका साथै प्रदेशमा १३ मन्त्रालय बनाउने सरकारको तयारी रहेको छ।

चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदनमाछानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिने

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ। ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मन्त्रालयले २८ चैतमा सार्वजनिक गरेको थियो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै

सबैभन्दा बढी विद्यार्थी पढ्नुका साथै सबैभन्दा बढी विषयहरूमा अध्ययन गर्ने अवसर प्रदान गरेको नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी पासदर भने निकै कम रहेको पाइएको छ। परीक्षा नियन्त्रण कार्यालयहरू तथा डीन कार्यालयहरूले उपलब्ध गराएको तथ्याङ्कको आधारमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै पाइएको हो । उच्च शिक्षा अध्ययन गर्ने जम्मा विद्यार्थीको ७८ प्रतिशत त्रिविमा पढिरहेको भए पनि पास हुने दर भने निकै न्यून देखिन्छ। उक्त पासदरले विश्वविद्यालयमा हुने पढाइको गुणस्तर तथा शिक्षकहरूको पढाइप्रति नै प्रश्न उठ्दै आएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ साेमबार छिचोलियाे

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ साेमबार छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । अब काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ।

नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार घट्याे

नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ। साेमबार सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ।

छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल

छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल भएको छ। हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ। हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो। हमासले १२९ जना बन्धकहरुलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो। तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन।

पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार नेपालकाे तेस्रो जित दर्ता

नेपालले ओमानमा जारी एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार नेपालले हङकङमाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो। आजको खेलमा नेपाल र बलिङ दुवै चलेको थियो। योसँगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले अन्तिम खेलमा बुधबार साउदी अरबसँग खेल्नेछ। ओडीआई फर्म्याटको प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको साबिक विजेता नेपाल टी(ट्वान्टी प्रिमियर कपको पनि दाबेदार हो।

Logo