‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् ।

परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको भन्दै आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका हुन् ।

उनले लेखेका छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो, फिलिम कस्तो चल्याछ ? यसपालि म हेर्न जान सक्या छैन । मैले भनेँ फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दै छन् बुवा । अचम्म मान्दै बुवाले सोध्नुभयो – किन ? के भन्छन् ? मैले भनेँ – साइबर सेना किन भनिस् भन्छन् । बुबाले भन्नुभो – सानो बन्नुपर्छ जहाँ पनि अटाइन्छ, ठूलो हुँदा कतै छिरिँदैन । अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुदैन । मरेर लानु केही छैन, सबैको प्यारो बन्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘बस्, बुवाबाट पुनः ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गरिदिनुहोला । धन्यवाद ।’

फूलपातीदेखि ‘छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साब’ एकसाथ रिलिज भएका छन् । तर आफ्नो फिल्म ‘छक्का पन्जा ५’माथि साइबर सेनाको आक्रमण बढेको भन्दै निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिमा साइबर सेना त सुनकै हो अब फिल्म क्षेत्रमा पनि आएछ भन्दै लेखेका थिए । यस प्रसंगमा माग्नेबुढा पनि विवादमा मुछिएका थिए ।

फिल्म ‘१२ गाउँ’का निर्देशक विराज भट्टले फिल्मको प्रचारमा साइबर सेना प्रयोग गरेको भनेर ट्रोल भइरहेको थियो । तर विराजले सञ्चारकर्मीसँग कुरा गर्दै साइबर सेना शब्द नै पहिलो पटक सुनेको भनेर हास्यास्पद जवाफ दिएका थिए ।

Logo