१० डरलाग्दा खलनायक (भिडियो रिपोर्ट)

१० डरलाग्दा खलनायक (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

‘भिलेन हुन अग्लो, मोटो र डरलाग्दो देखिनु पर्छ ।’ यो सुत्र सर्वमान्य होइन । हेर्दा मरनच्याँसे देखिने धेरैले समाजमा जधन्य अपराध मच्चाएका छन् । तर फिल्मका भिलेनहरु भने अक्सर अग्ला, बलिया र डरलाग्दा हुनेगर्छन् ।

एउटा जमाना थियो, जतिवेला नेपाली फिल्मको खल चरित्र निर्वाह गरेर यी नामहरुले चर्चा बटुलेका थिए । यसरी चर्चा बटुल्ने नामहरुमा पहिलो रंगीन फिल्म कुमारीका गौतमरत्न तुलाधरदेखि गोपाल भुटानी, टिका पहारी, नीर शाह, मुरलीधर, मुकुन्द श्रेष्ठ, सुनील थापा, युवराज लामा, उज्वल घिमिरे, अर्जुनजङ शाही, राजेन्द्र खड्गी, रवी गिरी, हेमन्त बुढाथोकी, विजय देउजा, दिनेश शर्मा, पवन मैनाली, सुशील पोखरेल, उमेश खड्का थिए । यी खलनायकहरु हेर्दै डरलाग्दा देखिन्थे । वा चरित्रले यिनीहरुलाई डरलाग्दो बनाएको थियो ।

हो, यो रिपोर्ट त्यस्तै भिलेनहरुको विषयमा केन्द्रीत छ । जो फिल्मभित्र समाजका हिरोहरु माथि हावी हुने गर्छन् । बुझ्ने भाषामा भन्नुपर्दा त्यस्ता भिलेनहरु जो डरलाग्दा छन् । प्रस्तुत छ, नेपाली फिल्म क्षेत्रका १० भिलेनहरुको काउन्टडाउन ।

१०. गौतमरत्न तुलाधर
– पहिलो रंगीन फिल्म कुमारीका खलनायक गौतमरत्न तुलाधर उतिवेला डरलाग्दा भिलेनमा गनिन्थे । त्यही फिल्ममा अभिनय गरेपछि उनलाई लगालग फिल्ममा अफर पनि आए । र, वर्षमा एउटा वा दुईवटा फिल्म बन्ने जमानाका गौतमले २५ फिल्ममा अभिनय गर्ने मौका पाए । कुमारीवाट सुरु भएको उनको फिल्मी यात्रा कस्तुरीमा आएपछि रोकिएको छ । उनले कलाको अर्को विधा समातेपछि अभिनयवाट विश्राम लिएका थिए ।

९. युवराज लामा
– देउता फिल्मका निर्माता युवराज लामा त्यस फिल्मका खलनायक पनि हुन् । लामा यस्तो खलनायक हुन् जसलाई चिनाउन उनले पहिलो पटक अभिनय गरेको त्यही फिल्म काफी छ । उनी अभिनित देउता उसवेलाको सुपरहीट फिल्म पनि हो । देउता यस्तो फिल्म हो, जसको नाम अभिनेता राजेश हमालले समेत लिइरहन्छन्, आफूलाई मन परेको फिल्म भनेर । यसका खलनायक लामा फिल्मी दर्शककालागी नयाँ टेष्टको रुपमा रुचाइए । देउताको द्धन्द निर्देशन पनि लामाले नै गरेका हुन् ।

८. राजेन्द्र खड्गी
द्धन्द निर्देशन राजेन्द्र खड्गीको मुल विधा हो । सँगसँगै उनले अभिनय कलालाई पनि उत्तिकै प्राथमिकतामा राखे । र, दर्जनौं फिल्ममा खलनायकको रुपमा अभिनय गरे । अग्नी परीक्षा, शंकर, गोर्खाली, बारुद, देवर बाबु, कर्कश, नथिङ इम्पोसिवल लगायतका फिल्मले उनलाई चिनारी दिए ।

राजेन्द्र खड्गीले तयार गरेकाक धेरै किस्साहरु फिल्मी बजारमा चलिरहन्छन् । मुक्का हानेर राँगो ढलाएको दावीले उनी सदाबहार चर्चित बनिरहे । तर उनले राँगो ढलाएको हो कि होइन, कसैलाई पत्तो छैन । उनले फिल्म क्षेत्रका धेरैलाई सार्वजनिक स्थलमा थप्पड र बक्सिङ हानेको प्रसंग पनि चलिरहन्छ । र, उनी पनि आफूवाट कुटाइखानेहरुको लिष्ट सुनाइरहन्छन् । अरुका किस्सा सुनाइरहने खड्गी आफैं किस्साको पात्र बनेर हाल जेलको हावा खाइरहेका छन् ।

७. कामेश्वर चौरासिया
– पछिल्लो समय अली फरक फिल्ममा देखिने कामेश्वर चौरासियााले आफूलाई स्थापित गरिसकेका छन् । पलाँस, लुट २, रेशमफिलिली लगायतका फिल्मले उनलाई दर्शक माझ स्मरणिय कलाकार बनाइसकेको छ ।

६. ध्रुब कोइराला
– भर्खरै सम्पन्न बक्स अफिस अवार्डमा उत्कृष्ठ खलनायक घोषित ध्रुब कोइराला खासगरी पुलिस अफिसरको रुपमा देखापर्छन् । उनले उत्कृष्ठ अवार्ड पाएको पनि पुलिसकै भूमीका निर्वाह गरेको हवलदार सुन्तलीवाट हो । उनले छवी ओझा निर्मित धेरै फिल्ममा अभिनय गरेका छन् । भोजपुरी फिल्ममा पनि उत्तिकै ब्यस्त कोइराला तीतोसत्य नामक टेलिशीर्यलवाट आम चर्चामा आएका थिए ।

५. विपिन कार्की
– भर्सटायल अभिनेता हुन् विपिन कार्की । तर उनी खल चरित्रमा मज्जाले जमेका छन् । खासगरी सफल फिल्म पशुपतिप्रसाद उनलाई चिनाउने र हिट बनाउने फिल्म हो । यस फिल्ममा उनले भष्मेडनको रुपमा निर्वाह गरेको भूमीका अविश्मरणिय छ । उनको अर्को सफल फिल्म हो, नाका । यसमा पनि उनले उल्लेख्य भूमीका निर्वाह गरेका छन् ।

४. रोबीन तामाङ
– नेपाली रक र पप संगीतमा स्थापित रोबिन तामाङले अभिनयमा समेत परिचय बनाइसकेका छन् । खासगरी चलचित्रको डरलाग्दो खलनायकका रुपमा उनले दर्शकमाझ परिचय छोडेका छन् । उनले अभिनय गरेको फिल्म छड्केलाई दर्शकले मनपराएपछि मुखौटा, वान वे, जय पर्शुराम लगायतका फिल्म उनले पाउँदै गए । रोबिनले अभिनय गरेका फिल्म कति चले ? त्यो भिन्न प्रश्न हो । तर उनको कामको तारिफ भने भइनै रहेको छ । अर्थात रोबिन नेपाली चलचित्रले नछोड्ने नाम भएका छन् । अग्लो तथा डरलाग्लो ज्यान अनि भ्वाइ कमाण्डले उनी दर्शक रिझाउने सामर्थ राख्छन् ।

३. प्रशान्त ताम्राकार
– हुनत प्रशान्त ताम्राकारले निकैवटा फिल्ममा अभिनय गरेका छन् । तर उनकालागी ऐश्वर्यजत्तिको संझिन लायक फिल्म अर्को छैन । ऐश्वर्यमा उनको पर्सनालिटी र त्यस अनुसारको भूमीका सतप्रतिसत फिट भएको पाए दर्शकले । यस फिल्मवाट भरपुर फाइदा कसैलाई पुगेको छ भने त्यो यसका निर्देशक दिवाकर भट्टराई, नायिका दिपिका प्रसाईं र खलनायक प्रशान्त ताम्राकारलाई नै हो । त्यसमा पनि प्रशान्तले सवैलाई उछिनेर फाइदा आर्जन गरेका छन् । बदलिदो समाजको प्रतिनिधि खलपात्र जस्तो देखिएकाले नै उनलाई मन पराइएको हो भन्दा अतिउक्ति हुन्न ।

२. अनुपबिक्रम शाही
– नायकको रुपमा फिल्मी क्षेत्रमा इन्ट्रिमारे पनि अनुप बिक्रम शाही खलनायकको रुपमा बढी चिनिन्छन् । उनले फिल्म हसिँयाबाट बेस्ट एक्टर इन् नेगेटिव रोलमा अवार्ड पाएपछि त झन उनी विधिवत रुपमा भिलेनमा गनिए ।

ह्यान्डसम भिलेनको परिचय वनाएका उनले यसै वर्ष दुई चर्चित फिल्ममा नेगेटिव रोल निर्वाह गरे । दुवै फिल्म सफल पनि भए । ती चलचित्र हुन् कृ र लिलि बिली । यी दुवै फिल्ममा उनी नायक माथि हावी भएको समीक्षा भयो । किनपनि भने यी दुई फिल्ममा यस्ता नायक छन् जसले चलचित्र इन्डस्ट्री पछि लगाएका छन् । अनुपबिक्रमले नेगेटिभ रोल गरेका फिल्महरु हुन् कृ, लिलि बिली, हसिँया, हाउ फन्नी आदी ।

१. सुनिल थापा
– सुनिल थापा र तुलसी घिमिरे निर्देशित फिल्म चिनो एकअर्काका परिपुरक झैं लाग्छन् । सुनिलले खेलेको पहिलो फिल्म चिनो उनका निम्ति मात्र होइन सम्पूर्ण नेपाली फिल्मको खलनायक चिनाउने अब्बल सृजना मानिन्छ । सुनिल विनाको चिनो र चिनो फिल्म छोडेर सुनिलको परिचय सर्वथा अपुरो हुन्छ । एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्दा पनि कुनैले पनि चिनोलाई टक्कर दिन सकेका छ्रैनन् ।

किशोर उमेरदेखि नै अभिनय यात्रा सुरु गरेका सुनिलले केही हिन्दी फिल्ममा समेत अभिनय गर्ने मौका पाए । उनले अभिनय गरे मध्येको संझिन लायक हिन्दी फिल्म पहिले एक दुजेके लिए र अहिले मेरी कोम उल्लेख्य छन् । मेरी कोममा प्रियंका चोपडाको गुरु भएर अभिनय गरेपछि उनी बलिउडको समेत स्मरणिय कलाकारको सूचीमा दरिएका छन् । नेपालमा भने चिनोको राते काइलाको रुपमा उनी यस्तो हिट छन् कि मानौं उनी नेपाली फिल्मको गब्बरसिंह हुन् । उनी जत्तिको ओजनदार खलनायक नेपाली फिल्ममा अर्को ब्यक्ति छैन भन्यो भने आजका मितिसम्मलाई त्यो सर्वमान्य भनाइ नै ठहर्ने छ । भयंकर ब्यक्तित्व र अभिनयकला सुनिल थापाको अब्बल पक्ष हो ।

स्रोत(यो रिपोर्ट चलचित्रकर्मी र समीक्षकहरुको कुराकानीमा, मिडियामा भएको चर्चा र परिचर्चामा र उनीहरुको फिल्मी सफलतामा कसी लगाएर तयार गरिएको हो ।)

 

Logo