‘डेन्जरजोन’ मा अनमोल

‘डेन्जरजोन’ मा अनमोल

केन्द्रबिन्दु
0
Shares

फिल्म समीक्षा

अदिती पौडेल

अनमोल केसीको जबरजस्त फ्यानका लागि भ्यालेनटाइनको कोसेली हो, ‘कृ’ । यसले लभ, रोमान्स र एक्सनको पूर्ण प्याकेज बोकेर आएको छ । कमेडी जनरामा रमाइरहेका दर्शकले यसबाट स्वाद फेर्न सक्छन् ।

‘कृ’ यस्तो फिल्म हो, जसले सुटिङको बेलादेखि व्यापक चर्चा बटुल्यो । फिल्मले चर्चा पाउनुको पछाडि दुई कारण थिए । पहिलो कारण सुपरस्टार अनमोल केसी । अर्को चाहि अनमोलकै पारिश्रमिक ।

अनमोल अहिलेका सर्वाधिक महंगा अभिनेता हुन् । यो कुरामा शंका छैन । शंका के कुरामा छ भने, उनले आफ्नो ‘ब्रान्ड भ्यालु’ जोगाउन सक्छन् कि सक्दैनन् ? ‘कृ’ हेरेपछि भन्न करै लाग्छ, अनमोल अब डेन्जर जोनमा छन् ।

अनमोलकै नामले चलेको फिल्म ‘कृ’लाई उनका फ्यान बाहेक अरुले सायदै रुचाउँलान् । किनभने फिल्म यति कमजोर छ कि, हलमा तपाई निदाउन सक्नुहुन्छ । या त फिल्म छाडेर उठ्नुहुनेछ । ‘बहुप्रतिक्षित’ फिल्म नाटकीय परिघटना र अपत्यारिलो दृश्यले खचाखच छ ।

फिल्मले वास्तविक कथा वा घटना देखाउनुपर्छ भन्ने होइन । अलौकिक कथालाई टेकेर पनि फिल्म बन्छ । बनाइएको छ । तर, त्यो विश्वसनीय, पत्यारिलो, स्वभाविक ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । फिल्म ‘कृ’ यही ठाउँमा चिप्लिएको छ ।

फिल्मको कथा – प्रेम र द्वन्द्वको हो । यस्तो कथालाई फिल्मले बर्षौदेखि बोक्दै आएको छ । बोकिरहने छ । किनभने प्रेम र द्वन्द्व समाजको एउटा पाटो हो । फिल्मले त्यही समाजका कथा खोतल्ने हो । तर, त्यसको पाटो भने फरक हुनसक्छ । स्वाद भिन्न हुनसक्छ । ‘कृ’ ले त्यही विषयलाई फितलो प्रस्तुति दिएको छ ।

यो फिल्म पनि अहिलेका युवापुस्तामा चल्ने प्रेमकथा छ । बिट्रिस सैन्यका एक नवजवान केटा र लाहुरे पृष्टभूमीकै केटीबीचको प्रेमलाई उनेर फिल्म विभिन्न मोडमा घुम्छ । यसको सवैभन्दा फितलो पक्ष पटकथा हो । कथानकमा ‘जर्क’ भेट्न धेरै नियाल्नु पर्दैन । ३ महिनामा लामो कपाल र शरिरमा आउने परिवर्तन पक्कै कसैलाई स्वभाविक लाग्दैन । यस्ता अस्वभाविक घटनाहरुको संगालो पनि हो, ‘कृ’ । यी सव कारणले ‘कृ’ लाई मात्र होइन यसका अभिनेता अनमोल केसीलाई समेत खतरामा पारेको छ । अर्थात ‘डेनजर जोन’ मा ।

Logo