अनमोल, रेखा र विनयका कुरा (भिडियोमा समेत)

अनमोल, रेखा र विनयका कुरा (भिडियोमा समेत)

केन्द्रबिन्दु
0
Shares

बिकिनी भारी पर्यो विनयलाई
२८ मंसिरमा काठमाडौँको क्यूएक्स्मा आयोजित पत्रकार सम्मेलनको दृश्य हो यो । यस दृश्यमा देखिएका तन्नेरी अभिनेता विनय श्रेष्ठलाई चिनेपनि यी दुई अर्धनग्न युवतीहरु को हुन् फिल्म क्षेत्रले थाहा पाएन । आफैंले निर्माण गरेको फिल्म ‘रोमियो एन्ड मुना’ को गीत लन्च कार्यक्रममा देखिएका विनयले किन यस्तो दृश्यको रचना गरे भन्ने पनि कसैले बुझेन ।

रेशम फिलिलि नामको फिल्म बक्स् अफिसमा अब्बल भए पनि आफ्नो चर्चा नभएको भन्ने तोडले हुनुपर्छ विनयले यस्तो योजना बनाएर चर्चा खोजेको । तर धेरैले उनको यो कोरियोग्राफीलाई निको मानेनन् । टेलिभिजनहरुले यो गीत बजाएनन् । युट्यूवमा खासै रुचाइएन । अरु त अरु सेन्सर बोर्डले समेत पचाएन बिकिनी गर्लहरुलाई । विनयका भित्रियाहरु भन्छन् ‘उनी सोच मग्न छन् ।’ त्यसैले बिकिनी गर्लहरुको फन्डा विनयलाई भारी परेको छ । विकिनी गर्लहरुको हर्कत सहित फिल्म रिलिज हुन्छ कि हर्कत रहीत हुन्छ ? त्यसकालागी चाहिं रोमियो एण्ड मुनाको रिलिज डेट कुर्ने पर्छ ।

अव के गर्छिन् रेखा ?
कलाकारले राजनीतिमा लाग्नु कति ठीक ? भन्ने विषय धेरै अघिदेखि बहसमा छ । राप्रपा (नेपाल)मा प्रवेश गर्दा नायिका रेखा थापाले ‘मेरो अन्तिम पार्टी यही हो ’ भनेर घोषणा गरिन् । तर, ६ महिना बित्न नपाउँदै पशुपतिशमशेर राणाको राप्रपा (प्रजातान्त्रिक)तिर लागिन् । उनी चुनाव प्रचारमा खुब खटिन् । तर, न राणाले जिते, न राप्रपा (प्रजातान्त्रिक) राष्ट्रिय पार्टी भयो ।
उता चुनावअघि नै उनी निर्मित तथा अभिनीत फिल्म ‘रुद्रप्रिया’ पनि फ्लप भयो । कुनैवेला रेखाले जे छोयो त्यही सफल हुन्छ भनेर गफ गर्नेहरु अहिले ठ्याक्कै उल्टो कुरा गर्न थालेका छन् । उनीहरु भन्छन्, ‘रेखाले जे छोइन्, त्यो फ्ल्प’ । उनीहरुले लगाएको बेलिबिस्तार अनुसार ‘माओवादीमा गइन् माओवादी खस्कियो । राप्रपाहरुमा छिरिन्, दुवै राप्रपा सकिए ।’ उनी अभिनित फिल्मको असफलताले कुरा काट्नेहरुकालागी अझ मलजल गरेको छ । कतिपयले सोध्न थालेका छन् ‘अव रेखाले के गर्लिन् हँ ?’

‘कृ’ को कपी पेष्ट, फिल्म क्षेत्रमा भाइरल
अनमोल केसी अभिनित फिल्म ‘कृ’ को ट्रेलर हेर्नेहरु फिल्मप्रति उत्सुक भएका थिए । भन्ने नै हो भने यो ‘मस्ट अवेटेड ट्रेलर’ नै थियो । ‘कृ’ को शूटीङ्गमा अनमोल को ‘लुक्स’ बाहिरिन नदिने देखि उनको सेटमा भएका ‘बडीगार्ड’ सम्मको कुरा पनि सबैको चासोको बिषय बनेको थियो ‘कृ’ । तर ‘ट्रेलर’ आइसकेपछी भने ‘कपि पेस्ट’को कुरा यसरी फैलिदैछ, कि निर्माता–निर्देशक नै छक्क परेका छन् ।

‘कृ’को ‘ट्रेलर’को सुरुको संवाद भारतीय चलचित्र डन २ कोे संवादसँग मिल्न गएको कुरा लाई कपि पेस्ट भनिन थाल्यो । ‘ट्रेलर’मा भएका संवादहरु अरु भारतीय चलचित्र सँग मिल्न जाने कुरा पनि पत्ता लाग्दै गयो । यतिवेलासम्म आइपुग्दा ‘कृ’ लाई जोडेर कपी पेष्ट भन्ने शब्द फिल्म क्षेत्रमा भाइरल भइसकेको छ । कपि पेष्टको कुराले ‘कृ’ को मार्केटलाई कुनै असर नपार्ने निर्माण पक्षको दावी छ । तर, यसकालागी भने फिल्म रिलिजको दिन कुरेर बस्नुको बिकल्प छैन ।

 

Logo