नसिलाइएको ‘फाटेको जुत्ता’ (फिल्म समीक्षा)

नसिलाइएको ‘फाटेको जुत्ता’ (फिल्म समीक्षा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ कात्तिक ।

सहरका भित्तामा अहिले ‘फाटेको जुत्ता’ टाँगिएको छ । जुत्ता कसरी फाटेको छ, किन फाटेको छ, कहाँ फाटेको छ ? थाहा पाउनका लागि चाहिँ सिनेमाघर पुग्नैपर्छ । किनभने निकेश खड्का निर्देशित यो चलचित्र यही शुक्रबारदेखि पर्दामा चढेको हो ।

दायाँबायाँ लाग्नुभन्दा अघि फिल्मको कथातिर लागौं । पात्र मधेसको हो । लवज मधेसको हो । गेटअप मधेसको हो । लोकेसन मधेसको हो । तर, कथा मधेसको होइन । प्रेमको हो । बेवकुफीको हो ।

समाजसेवी र गन्यमान्य व्यक्तिको मृत्यु हुन्छ । अब उनको विरासत आफ्नो छोरामा जान्छ । तर, छोरा मिन्टु बेढंगको छ । गाउँलेका नजरमा उनी कुखुरा चोर हुन् । बुवाले कमाएको यश जोगाउन लायक छैनन् उनी । एउटा संभ्रान्त संस्कारमा हुर्किए पनि उनी दयनीय छन् । कुखुरा चोर्छन् । फाटेको जुत्ता लगाउँछन् । प्रहरी खोरमा पुग्छन् । उनका अरु दुई यार छन्, जो उनको पछि पछि दौडन्छन् ।

कथाको उठान यी तीन मित्रहरुको हर्कतबाट हुन्छ । प्रहरीले लखेटिरहेको दृश्यसँगै फिल्म अघि बढ्छ । फिल्म त अघि बढ्छ, कथा जहाँको त्यही रहन्छ । अर्थात प्रकाशपुरमै अल्झिन्छ । भित्री मधेसको यो ग्रामीण क्षेत्रमा यी तीन युवाको उट्याङपट्याङ सुरु हुन्छ । कहिले कुखुरा चोर्छन्, कहिले भैंसी । यस्तै झिनामसिना हर्कतसँगै उनीहरु डन बन्ने सपना पाल्न थाल्छन् । डन किन बन्न चाहन्छन् ? यसका लागि इन्दुकहाँ पुग्नुपर्छ ।

इन्दु सहरमा पढेर गाउँ फर्किएकी छिन् । उनी महन्थकी एक्लो सन्तान हुन् । महन्थ स्थानीय डन हुन्, जो अपहरण गरेर पैसा असुल्ने धन्दामा छन् । मिन्टुले उनै इन्दुलाई मन पराउँछ । ऊ आमालाई लिएर महन्थको आँगनमा इन्दुलाई माग्न पुग्छ । तर, इन्दुले उनलाई मन पराउँदिनन्, बिहे गर्ने इच्छा देखाउँदिनन् । अन्ततः बेइज्जतीपूर्ण तरिकाले उनीहरु त्यहाँबाट फर्कन्छन् । यही घटनाले मिन्टुमा इगो पैदा गर्छ । त्यही इगोले फिल्मको सेकेन्ड हाफ पछाडि नयाँ मोड ल्याउँछ । प्रकाशपुरको डन बन्ने सपनाले लखेट्दा लखेट्दै कथा क्लाइमेक्समा पुग्छ । के अब मिन्टुले इन्दु पाउँछ ? के मिन्टु डन बन्छ ? यही जिज्ञासा बिट मार्दै फिल्म द एन्ड हुन्छ ।

फिल्मको समग्र कन्सेप्ट राम्रो छ । मधेसको भित्री गाउँको लोकेसन । त्यहाँका तीन अल्लारे केटा । डनकी सहरिया छोरी । हास्यरसयुक्त संवाद । तर, यति भएर पनि फिल्म फिल्मजस्तो छैन । फिल्म हेरिरहँदा दर्शकले थुप्रै पटक हाई काड्छ । दर्शकको संवेदनालाई फिल्मको दुख, सुख, हाँसो, मूर्खता, भयानकता केहीले पनि छुँदैन । प्लाष्टिकको फूल जस्तै न यसमा सुगन्ध छ, न रस । न प्राकृतिकपन ।

फिल्मको बलियो पक्ष एउटै छ, कलाकारको अभिनय । मिन्टु बनेका सौगात मल्ल, उनका सहपाठी बनेका कामेश्वर चौरसिया, डन बनेका रवीन्द्र झा आदिको अभिनयकै बलमा मात्र फिल्म टिकेको छ । अन्यथा यो फिल्म हल्का कमेडी सिवाय केही छैन ।

फिल्मको कमजोरी केलाउने हो भने, महाभारत बन्छ ।

निर्देशक निकेशको कच्चापन यसमा छताछुल्ल छ । फिल्मले कसरी दर्शकलाई बाँध्ने भन्ने कुरामा उनको मथिंगल हल्लिएको छैन । सतही रुपमा हास्य स्वादको संवाद र दृश्यलाई उनिएको छ । तर, फाटेको ठाउँ भने सिलाउन भुलिएको छ । कहाँ कहाँ फाटेको छ त फिल्म ?

फाटेको कुरा गर्ने हो भने, सिलाउने ठाउँ राखिएको छैन । फिल्मको मूल कथा के हो ? त्यो स्पष्ट छैन । किनभने दर्शकलाई बाँध्ने भनेकै कथाले हो । तर, कथा नभएपछि दर्शकले हाई काड्नु स्वभाविक हो । दर्शकलाई हँसाउनका लागि मिन्टुले गर्ने हर्कत बेकार छ । त्यस्ता हर्कतबाट दर्शकमा हाँसो ल्याउने असफल प्रयास गरिएको छ ।

फिल्म हेर्दै जाँदा दर्शक त्यसमा डुब्नुपर्छ । दर्शक कथामा डुबेपछि पर्दासँग उसको भावनात्मक अट्याचमेन्ट हुन्छ । पर्दासँग दर्शकको भावनात्मक अट्याचमेन्ट भएपछि पर्दाको कथा, हाँसो, रोदन, भय, पिर, दुःख आदिले दर्शकको मनमा उथलपुथल ल्याउँछ । यसमा निर्देशक खड्का नराम्ररी चुकेका छन् ।

कथा क्लाइमेक्समा पुग्दासम्म दर्शक पर्दासँग जोडिन सक्दैनन् । केवल आँखाले हेरेर वा कानले सुनेर मात्र फाटेको जुत्ताको स्वाद लिनुपर्ने बाध्यता हुन्छ ।

 

 

Logo