क्यानेडामा २ नेपाली फिल्मले जिते अवार्ड

क्यानेडामा २ नेपाली फिल्मले जिते अवार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘दद्या’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् । 

‘हेभन इज ब्ल्याक’को निर्देशन राजकुमार राई तथा दद्याको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गर्नुभएको हो । टोरन्टो नेपाली फिल्म फेस्टिबल आयोजक समितिले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष सुवर्ण थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । पहिलो चलचित्रले एक हजार ५०० क्यानाडियन डलर तथा प्रमाणपत्र र ड्याडाले ५०० क्यानाडियन डलर पाएका थिए । 

मेलामा १४ नेपाली चलचित्र देखाइएकामा ती दुई उत्कृष्ट ठहरिएका थिए । गत अप्रिलमा सम्पन्न सो मेलामा नेपाली म्युजिक भिडियो, नेपालको कला, संस्कृति तथा नेपाली समाजको जल्दाबल्दा समस्यालाई केन्द्रित गरी तयार गरिएका चलचित्र प्रदर्शन गरिएको थियो । 

सो अवसरमा निर्णायक मण्डलका अध्यक्ष थापाले नेपाली चलचित्रको प्रदर्शनबाट नेपालको संस्कृति तथा कलाको विश्वमा प्रचार गर्न सघाउ पुगेको बताउनुभयो । टोरन्टो नेपाली फिल्म फेस्टिबल २०१७ का संयोजक संगम पुलामी मगरले नेपालको चलचित्र विदेशीले पनि रुचाएको बताउनुभयो । रासस

 

Logo