कामपाको करिब ४ करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिबाट उद्घाटन

कामपाको करिब ४ करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिबाट उद्घाटन

केन्द्रबिन्दु
0
Shares

गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आज सम्माननीय राष्ट्रपतिले उद्घाटन गरेकी छन् । 

विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन। 

‘म एउटै कुरा भन्छु, गौतम बुद्धको  जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतमबद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावना अनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ 

राष्ट्रपति भण्डारीले  विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएकै हुन्छन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’ उनले भनिन्

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरसहितको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताए।  

‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यही अनुसार सहयोग गरेका हौँ ।’ 

उनले आज सम्माननीय राष्ट्रपतिबाट उद्घाटन हुँदै गर्दा खुसी लागेको पनि बताए।  ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भने, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा महानगरले आफ्नो महानगरको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौँको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको हो । हाम्रोसहितको सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ ।’

शाक्यले काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताए।  

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए ।  

‘काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेरै छाडेको छ, खुसी लागेको छ,’ उनले भने, ‘काठमाडौँ महानगरको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।’

उनले अझै थप रकम खर्च हुने भन्दै थप सहयोगको अपेक्षा गर्नुभयो । ‘लुम्बिनी विकास कोषमा गुरुयोजनामा लुम्बिनीमा नेपालको उपस्थिति जनाउने उद्देश्यले बज्रयान बिहान निर्माण गरेको हो,’ उनले भने, ‘यो विहार निर्माणका लागि हामीले कुनै पनि विदेशीको सहयोग लिएका छैनौँ ।  यो हाम्रो आदर्श र सपना हो, यो पूरा हुँदैछ ।’

उनले नेपाली बौद्धकला, वास्तुकलालाई निरन्तरता दिने अर्को उद्देश्य रहेको पनि बताए । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो,’ उनले भने, ‘३ सय ७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौँ ।’  

नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए। 

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

Logo