नेपालीका लागि वैदेशिक रोजगार लाभ कि अभिशाप ?

नेपालीका लागि वैदेशिक रोजगार लाभ कि अभिशाप ?


श्रमका लागि अल्पकालीन रूपमा एक देशबाट अर्को देशमा गएर श्रम गर्नु नै वैदेशिक रोजगारी हो । नेपाल सरकारबाट श्रम स्वीकृति लिई पछिल्लो समय वैदेशिक रोजगारीको लागि पलायन हुने क्रम बढ्दाे छ । विभिन्न तथ्याङकले वैदेशिक रोजगार वा अन्य बहानामा बिदेशिने युवाको संख्या दैनिक १ हजार ६ सयभन्दा बढी रहेको देखाउँछ । यसरी नेपाली युवा बिदेशिने मुलुकहरूमा खाडी राष्ट्रको बाहुल्य उल्लेख्य रहेको पाइन्छ ।

नेपालीमा बढ्दो बेरोजगारी, गरिबी, गुणस्तरियहिन शिक्षा र सामान्य अवसर पनि उपलब्ध नहुँदा खाडी मुलुक जानु बाध्यात्मक परिस्थिति बनेको कुरा स्विकार्नै पर्ने हुन्छ । अहिले विदेशिने प्रचलन ‘ट्रेन्ड’ सरह विकास हुँदै आएको छ । विदेशप्रतिको बढ्दो मोहले नेपाल र नेपालीको सिंगो भविष्य नै जोखिममा पर्ने खतरा बढिरहेको छ । मानव स्वभाव महत्वाकांक्षी र सुखभोग गर्ने क्रममा कोही पनि आफूलाई पछाडि छाड्न चाहँदैन ।

विदेशबाट फर्किएका युवाहरुले ठूला सुटकेस बोकेर आएको, राम्रो लुगा लगाएर केही समय हातमा राम्रो मोबाइल खेलाएको तथा खल्तीभरि पैसा देखेपछि अरू युवा वैदेशिक रोजगारप्रति आकषिर्त हुनु स्वाभाविक हो । खाडीमा गएर काम गर्दाको पीडा, चरम श्रम, अत्यधिक गर्मी, साहुको चर्को आदेश असहनीय छ । यद्यपि परिवार पाल्ने आशमा बिदेसिएकी महिला दिदी बैनी माथि हुने यौनजन्य क्रियाकलाप ,परिवारसँगको बिछोडका पीडा आफ्नै कथा बनेर मनभरि उकुस–मुकुस भएको व्यथा कम छैन।

अझ नेपाली समाजले आफन्तहरूको मृत शरीर बाकसमा प्राप्त गर्दाको पीडा उत्तिकै दर्दनाक छ । नेपालमा रोजगारीको अवसर सिर्जना गर्ने तथा राज्य सञ्चालन गर्ने संयन्त्रको इच्छाशक्ति र व्यावहारिक योजना साह्रै शून्य मनःस्थितिबाट मन्द गतिमा चलिरहेको छ ।

आज काठमाडौंमा पानीका धाराका पाइप फुटेर खनिज पदार्थ तथा ग्यास निस्किरहेको छ । पानीको मूल फुट्ने ठाउँबाट खनिज ग्यास बाहिर निस्की मेरो सही व्यवस्थापन गरिदेऊ भनिरहेको अवस्था छ । नेपालका सुनकोसीलगायत विभिन्न नदीको बालुवाबाट मजदुरी गर्नेहरूले सुन छानेर दुई गाँस खाइरहेका छन् ।

हाइड्रो पावर, पर्यटन, कृषिलगायत आवश्यक खानी उत्खनन् गर्ने बहुराष्ट्रिय उद्योगधन्दा सञ्चालन गर्नतर्फ राष्ट्रको ध्यान गए नेपाल सम्भावित बालकवृद्धको देश भनेर चिनिने थिएन होला । जति अवसर आउँछन्, त्यसमा आफ्ना नातागोताको मात्र हालीमुहाली हुनु अर्को विडम्बना हो । पछिल्लो समय जब राष्ट्रमा राजनीतिक संकट आयो, त्यससँगै आर्थिक दरिद्रता पनि हाबी हुन पुग्यो । बिदेशिने क्रमले धेरैका घर बनिएका होलान् । तर, भावनात्मक रूपमा घर बिग्रिएका कयौंं यर्थाथ पनि छन् ।

विश्वमा बिदेशिएर रेमिट्यान्सकै भरमा चल्ने देशमध्ये चिली पनि एक थियो । तर, पछिल्लो क्रममा कुशल प्रशासकहरूले सबै बिदेशिने युवाहरूलाई आफ्नै देशमा अवसरको सिर्जना गरेर युवा शक्तिलाई देशको पुनः निर्माणमा फर्काई आज जसरी सिङ्गापुर एसियाको सम्पन्न मुलुकमा गनिन्छ । त्यसरी नै चिली पनि साउथ अमेरिकाको व्यावसायिक र सम्पन्न मुलुकको सूचीमा आफूलाई उभ्याउन सफल हुँदै गएको छ । यस्तै, उदाहरण साउथ कोरियाको पनि छ । त्यसैले अब राष्ट्र सञ्चालनको अवसर पाउनेहरूले देशका लागि, देशवासीका लागि, युवाहरूका लागि खलनायक भएर होइन, नायकको भूमिकामा उभिनु जरुरी छ । नेपाली युवा बिदेसिनुको प्रमुख जड भनेको बेरोजगारी हो । नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता गम्भीर समस्याको रूपमा रहेको छ ।

नेपालमा शैक्षिक बेरोजगारीको संख्या अत्यधिक छ । महँगीले आकाश छुन मात्र बाँकी छ । त्यसैले दैनिक करिब १ हजार ५ सय नेपाली युवायुवतीहरू वैदेशिक रोजगारीका लागि बाहिरिने गर्दछन् । नेपालमा रोजगारीको अवसर नै छैन भन्न मिल्दैन । तर, शैक्षिक जनशक्तिको अनुपातमा रोजगारीको अवसर न्युन छ । पहिला पहिला मलाई नेपालमै केही गर्न छोडेर मानिसहरू किन बिदेशिएका होलान् भन्ने लाग्थ्यो । बिदेशिने मान्छे मनै पर्दैनथ्यो । तर, केही गर्छु भनेर मात्र हुँदैन रहेछ । केही गर्न सुरु गर्न पनि बजेट र उचित वातावरण चाहिने रहेछ । हुन त बिदेशिन गरिने लगानीले स्वरोजगार बन्न सकिन्छ । तर, विदेश जान्छु भन्दा ऋण दिन तयार हुने हाम्रो समाजले स्वदेशमै केही गर्छु भन्दा पत्याउँदैन ।

विदेश जान्छु भन्दा ऋण दिन तयार हुने हाम्रो समाजले स्वदेशमै केही गर्छु भन्दा पत्याउँदैन ।

कसैले ऋण पत्याइहाले भने पनि राजनीतिक अस्थिरता, बन्द, हड्ताल, चन्दा आतंकले गर्दा निर्धक्क भएर लगानी गर्न सकिँदैन । सानोतिनो लगानीबाटै स्वरोजगार बनौं भन्दा हाम्रो नेपाली समाजले कामको सम्मान गर्नै जानेको छैन । त्यसैले आजभोलि मलाई अन्तिम विकल्पको रूपमा नेपाली युवाहरू मरुभूमिमा पसिना बगाउन बाध्य भएका हुन् जस्तो लाग्न थालेको छ ।

हाम्रो शिक्षा प्रणाली व्यावहारिक हुन सकेको छैन । शिक्षित व्यक्तिहरूमा पनि सीपको अभाव खड्गी रहेको छ । प्रविधिको मामिलामा देश निकै पछाडि छ । बिदेशिएरै भए पनि नेपाली युवाहरुले नयाँसीप र प्रविधिबारे जान्ने अवसर पाएका छन् । उनीहरु नेपाल फर्किएर विदेशमा सिकेको सिप र ज्ञानलाई प्रयोग गरी स्वरोजगार बनेका उदाहरण पनि छन् ।

त्यसैगरी शिक्षाको पहुँच नपुग्ने विकट ठाउँका युवाहरू पनि बिदेशिएर पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको करिब २५ प्रतिशत धानेको छ । कम्तीमा उनीहरुले आ–आफ्ना बालबच्चालाई राम्रै शिक्षा दिनुका साथै घरपरिवारलाई केही हदसम्म भएपनि राहत भएको महसुष गराएका छन् । यति हुँदाहुँदै बिदेशिएका युवाले खाडी मुलुकमा बगाएको पसिनाको मूल्य नबुझी विलासी जीवन बिताउने, रेमिट्यान्सको दुरुपयोग गर्ने अनि परपुरुषसँग सम्बन्ध बढाउने जस्ता विकृतिहरू पनि बढिरहेका छन् ।

खासगरी बिदेशिएका पुरुषका अधिकांश श्रीमतीहरूले देखासिकी अझ भनौं कसका श्रीमानले कति कमाए ? के–के गरगहना किनिदिए ? भनेर देखाउने प्रतिस्पर्धा गर्छन् । तर, श्रीमानले कति दुःख गरेका छन् भन्ने बुझ्दैनन् । अझ कोहीकोही छोराछोरी पढाउने बहानामा सहर केन्द्रित बसाइँ सर्ने तथा सासू ससुरासँग अलग भई परपुरुषसँगको सम्बन्धमा हुने, श्रीमानले पठाएको पैसामा अरूसँगै रमाउँने गरिरहेका छन् ।

अनि श्रीमान् आउने बेलामा भएभरको सम्पत्ति कुम्ल्याएर साना साना बालबच्चाको परवाहै नगरी अर्कैसँग टाप कसेका उदाहरणहरू नेपाली समाजमा धेरै छन् । भौगोलिक जटिलता, न्यून आर्थिक वृद्धि तथा विकास, सीपविहीन जनशक्ति, जातजातिको आधारमा कामको बाँडफाँट, सीमित औद्योगिक विकास, न्यून पारिश्रमिक, महँगाइमा बढोत्तरी, कृषि क्षेत्रमा मौसमी रोजगारी जस्ता कारणहरूले गर्दा देशमा आन्तरिक रोजगारीका पर्याप्त अवसर सृजना हुन नसकेकाले श्रम बजारमा प्रवेश गर्ने व्यक्तिको संख्या भन्दा रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जानको संख्या धेरै छ ।

वैदेशिक रोजगारीलाई अवसरको रोजगारी बनाउन वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित, व्यवस्थित र मर्यादित बनाइ अधिकतम प्रतिफल हासिल गर्नु र सामाजिक लागत कम गर्नु आजको मुख्य आवश्यकता रहेको छ । वैदेशिक रोजगारीले ल्याउन सक्ने सामाजिक, आर्थिक र मानवीय जोखिमको विश्लेषण गरी आन्तरिक रोजगारीका पर्याप्त अवसरहरू सृजना गरी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै जानु पर्ने देखिन्छ ।

(कठायत बालाजु इन्जिनियर कलेज अध्ययनरत विद्यार्थी हुन्)

Logo