मन्त्री पाण्डेले गरे भारतको धर्म धम्म सम्मेलनमा सम्बोधन

मन्त्री पाण्डेले गरे भारतको धर्म धम्म सम्मेलनमा सम्बोधन

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई नेपालका धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन् ।

भारतको गुजरतामा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपालका पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरू रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने उल्लेख गर्दै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणमा आउन निम्तो दिएका थिए ।

भूटान र श्रीलङ्का लगायतका देशका मन्त्रीहरू र अन्य देशका धार्मिक विचारकहरूको ठूलो संख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणाको प्रतीकका रूपमा नेपालमा धर्म र धम्मका सिद्धान्तहरू सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिए ।

भारत फाउन्डेसनले गुजरात विश्वविद्यालय, अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आठौँ सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । आठौँ अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी रहेको अनुमान छ ।

Logo