नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयमा पनि मनाइयो नेपालको संविधान दिवस

नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयमा पनि मनाइयो नेपालको संविधान दिवस

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सार्क राष्ट्रद्वारा निर्मित भारतको नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयले नेपालको संविधान दिवस भव्यताका साथ मनाएको छ ।

त्यहाँस्थित नेपाली विद्यार्थीको अग्रसरतामा संविधान दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अवसरमा विश्वविद्यालयका प्रेसिडेन्ट प्रा केके अग्रवाल र दिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधि डीएमआर डा सुरेन्द्र थापाको प्रमुख उपस्थितमा कार्यक्रम गरिएको थियो । विश्वविद्यालयका प्रेसिडेन्ट अग्रवालले नेपाली विद्यार्थी तथा सबैलाई संविधान दिवसको शुभकामना व्यक्त गरे । साथै उनले विश्वविद्यालयको स्थापना प्राज्ञिक उत्कृष्टताका लागि मात्र नभएर सबै सार्क देशको संस्कृति, संस्कार, आपसी मेलमिलाप र एकताका लागि पनि स्थापना भएको जानकारी गराए ।

त्यसैगरी भारतस्थित नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापाले नेपालको झण्डा फहराउँदै सबै नेपालीलाई संविधान दिवसको शुभकामना व्यक्त गरे । डा थापाले संविधानको मर्म र महत्त्वका बारेमा प्रकाश पार्दै नेपालको संविधान सबैलाई एकताबद्ध पार्ने दस्तावेज भएको बताए ।

कार्यक्रमको दोस्रो सत्रमा साँस्कृतिक कार्यक्रमअन्तर्गत नेपाल, भारत, भूटान, बांगलादेश र श्रीलंकाका विद्यार्थीले आफ्नो देशको साँस्कृतिक नाचगान प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी अतिथिहरूलाई नेपाली टोपी लगाइदिएर सम्मान तथा स्वागत गरिएको विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका टेकराज कोइरालाले बताए ।

Logo