असोज २५ गते एनआरएनए डे मनाउने निर्णय

असोज २५ गते एनआरएनए डे मनाउने निर्णय

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५ मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले संघभित्रको आफ्नोतर्फको गतिविधिलाई सशक्त बनाउने, एनसीसीहरुसँग समन्वय बढाउँदै लैजाने, एकताबद्ध एनआरएनए बनाउन पहलकदमी लिनेजस्ता निर्णय पनि गरेको छ । पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरू सहभागी बैठकमा अध्यक्ष आरके शर्माले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा अध्यक्षबाट पेस भएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।

सोही एजेण्डामाथि बैठकमा छलफल भएपनि अक्टोबर ११ मा भव्यताका साथ एनआरएनए डे मनाउने निर्णय भएको जानकारी दिँदै उनले नेपालमा हुनेले भौतिक रुपमा उपस्थित भएर मनाउने र नेपाल बाहिर हुनेले सो दिनको ४ देखि ६ बजेसम्म भर्चुअल कार्यक्रम गरेर मनाउने तय भएको बताए । देश शोकमा भएकाले अघिल्ला बर्षको जस्तो ताम झाम गरेर नमनाउने अध्यक्ष शर्माले बताए ।

बैठकमा अध्यक्ष शर्माले परराष्ट्रमन्त्रीसहितलाई बोलाएर भव्यताका साथ कार्यक्रम गर्न तयारी गर्न नेपालमा रहेका कार्यसमिति सदस्यहरुलाई आग्रह गरे । सोअनुसार सम्बन्धितलाई पत्राचार गरेर उनीहरूको सहभागिता सुनिश्चित गराउन उनले सम्बन्धित पदाधिकारीहरूलाई आग्रह गरे ।

यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गरेर हस्तान्तरण गर्ने निर्णय हुँदा राहत पनि दीर्घकालीन हितलाई मध्यनजर गरेर वितरण गरिने बैठकको निष्कर्ष छ । त्यसका लागि रकम संकलन गर्ने र छिट्टै हस्तान्तरण गर्नेगरी तयारी भएको छ ।

बैठकमा समूहको प्रचार बढाउने, गतिविधिहरू जारी राख्ने लगायतका विषय सहभागीले उठाएका थिए । सल्लाहकार नारायण आचार्य, बुद्धिप्रकाश ओली, विमल सुवेदी र दुर्गा पौडेलसहित सहभागी कार्यक्रममा उपाध्यक्षहरु खगेन्द्र न्यौपाने, गंगाधर गौतम, केशव पौडेल, रोबिन श्रेष्ठले बद्री केसी पक्षले कोषको पैसामा मनपरी गरेको बताउँदै उनीहरु संस्था सक्न लागिपरेको बताए । अब आफूहरु सशक्त बनेर जाने उनीहरूको भनाइ रहेको थियो भने कतिपयले त बद्री केसी पक्षलाई चुनौती दिनेगरी दोस्रो विकल्पमा जानेबारे समेत कुरा उठाएका थिए ।

विशेषगरी उपमहासचिव प्रमोद सिटौलाले यस्तै भइरहे छुट्टै एनआरएनए बनाउनेगरी धारणा राख्दा उपमहासचिव कृष्ण गिरी, सचिव कृष्ण जिबी पन्थ, लोक दाहाल, टंक गैरे र मनोज गोर्खालीले संस्थाका गतिविधिलाई सशक्त बनाउनुपर्ने धारणा राखे । लोक दाहालले बाढी पहिरो प्रभावितलाई लक्षित गरेर बेल्जियमबाट मेडिकल टीम ल्याएर काम गर्न सकिने भन्दै त्यसका लागि वातावरण बने आफूले डाक्टरको टोलि नै लिएर नेपाल जाने बताए ।

यस्तै कोषाध्यक्ष ठाकुर ढुंगाना, सहकोषाध्यक्ष तिलक गैरे, प्रवक्ता नारायण सुवेदीले राहतको काममा टीम मिलेर छिटो रकम संकलन गरेर काम गर्नुपर्नेमा धारणा राखे । सो क्रममा कतिपय अभियन्ताहरुले सहयोगको घोषणा र प्रतिबद्धता पनि जनाएका छन् ।

यस्तै महाससिचव बुद्धि सुवेदीले आफूहरु बेथितिविरुद्ध लडेको उल्लेख गर्दै मुद्दा अदालतमा रहेकाले छिट्टै संकट समाधान हुने विश्वास व्यक्त गरे । बैठकको अन्तिममा अध्यक्ष शर्माले एनआरएनए सबैको साझा हुनुपर्छ भन्ने नै आफूहरुको स्वार्थ एकमात्र स्वार्थ भएको बताए । ‘हामीहरु संस्थाको हितका लागि सोझो भएर लाग्दा बद्री केसी पक्षमा भने छट्टुहरु देखिएका छन् । तर हामी संस्थाको बृहत्तर हितका लागि सक्रियतापूर्वक लागिरहन्छौँ ।’ उनले आगामी दिनमा टीमका सबैको सुझावलाई ममन गरेर अघि सक्रियतापूर्वक काम गर्ने पनि प्रतिबद्धता जनाए ।

बैठकमा सर्वोच्चमा आफूहरुले दिएको मुद्दा विचाराधीन रहेको भन्दै छिट्टै संस्था एक हुने वातावरण तयार हुने विश्वास समेत सहभागीले गरेका थिए । मुद्दाको फैसला जे आएपनि एनआरएनएले जित्नुपर्ने उनीहरूको धारणा थियो ।

गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको अवस्था छ । गत चैत २१ गते सर्वोच्चले संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएपनि आफूहरूलाई काम गर्न नदिएको भन्दै बद्री केसी पक्ष फेरि सर्वोच्च गएको थियो ।

केसी पक्षको मुद्दामा साउन २२ गते सर्वोच्चले उनलाई काम गर्ने बाटो खुला गरिदिएसँगै संघभित्र फेरि अन्यौलता भएको थियो । यही बीचमा शर्मा पक्षले केसी पक्षले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको जिकिर गर्दै आफूचाहिँ आधिकारिक भएको दाबीसहित अर्को रिट निवेदन दर्ता गराएको थियो । सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिने प्रयोजनका लागि भने सुनुवाइ हुन सकेको छैन । उक्त मुद्दाको पेसी अब कात्तिक ५ का लागि तोकिएको छ ।

गत ११ औँ महाधिवेशनमा केसी पक्षले धाँधली गरेर चुनाव गरेको भन्दै शर्मा पक्षका बहुमतले होटल हिमालयमा महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेर शर्मा अध्यक्ष चयन भएका थिए । त्यसयता केसीविरुद्ध शर्मा पक्षले गतिविधि गर्दै आएको छ । केसीले भने सर्वोच्चको फैसलापछि बालुवाटारस्थित कार्यालयबाट काम गर्दै आएका छन् ।

Logo