टीकाको अघिल्लो दिन घरमा छोराको शव आएपछि…

टीकाको अघिल्लो दिन घरमा छोराको शव आएपछि…

केन्द्रबिन्दु
420
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट् पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका गएका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतको भन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवारको । तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट् विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट् असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ ।

कानुनी प्रक्रिया पूरा गरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भने, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला, अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”

छिमेकी नन्दन श्रेष्ठले विराट्को अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराट्को आत्माले शान्ति पाओस्”, उनले भने ।

Logo