हानको चेतावनीः‘बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गर्छौं’

हानको चेतावनीः‘बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गर्छौं’

केन्द्रबिन्दु
0
Shares

होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।

होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । उनले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको सावाँ,ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए । उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताए । 

उपाध्यक्ष साहले विगतको भन्दा होटलहरु सामान्य सुधार भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले अहिले पनि होटलहरु दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावाँब्याज तिर्न दबाब दिइरहेको बताए ।

उनले भने, ‘असोज मसान्तसम्म तिर्नुपर्ने सावाँ ब्याजलाई केही समय पछाडि सार्नको लागि सरकारसँग माग गर्छौं । होटलहरुले नतिर्ने भनेको होइन तिर्नुपर्ने सावा ब्याज तिर्छाैं । तर होटलहरुलाई समय चाहिन्छ । हामीलाई थप दुई वर्ष समय थप चाहियो । अहिले पनि होटल उद्योग अतिप्रभावित क्षेत्रमा नै छौं । कोरोनासँगै रुस र युक्रेनको लडाई चलिरहेको छ भने प्रतिनिधि सभाको निर्वाचन तत्कालै आइरहेको छ । नेपालमा तत्काल पर्यटक बढी हाल्ने अवस्था पनि छैन । बैंकहरुले सावा ब्याज तिर्न नसकेर सरकारसँग हारगुहार गरेका छौं । सरकारले होटल व्यवसायीहरुका कुरा सुनिदिएन भने होटलहरु क्रमिक रुपमा बन्द हुने अवस्था आउँछ । होटल बन्द हुने अवस्था नओस् भने होटल एशोसिएशन को चाहना हो । चालु आर्थिक वर्षको बजेट मौद्रिक नीतिमा होटल व्यवसायीका मागहरु केही पनि सम्बोधन भएन । निरन्तर होटल व्यवसायीहरुको माग सम्बोधनको लागि माग गरिरहेका छौं तर हाम्रो मागको सुनुवाइ कतैबाट पनि भएको छैन । होटल उद्योगको लगानी बचाउनको लागि हामी अलि कडा रुपमा अगाडि आएका छौं । एकपछि अर्को गरेर बैंकहरुले ब्याज बढाउने र अनि सावाँ ब्याज तिर्न दबाब दिने मात्रै नभएर आम्दानी गर्ने स्रोत बनाइदिनुपर्छ । सरकारले विदेशी पर्यटन नेपालमा ल्याउने कुरामा ध्यान दिएको छैन । सरकारले होटल व्यवसायीहरुको मागलाई कसरी सम्बोधन गर्छ त्यही अनुसार हान अगाडि बढ्छ ।’

उपाध्यक्ष साहले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनैपनि हालतमा बैंकलाई सावाँब्याज बुझाउन असक्षम रहेको बताए । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए । 

उनले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तिब्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पु-याएको बताए । उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने बताए । 

उपाध्यक्ष साहले अहिले बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए । 

Logo