कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

केन्द्रबिन्दु
0
Shares

सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मंगलवार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजंघा क्षेत्रमा जान तयारी गर्दै गरेका हुन् ।

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । 

कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेशा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटल व्यवसाय नछाड्ने सोचमा पुगेका छन् । कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ ।

समुद्र सतहदेखि ३ हजार ५०० मिटरदेखि ४ हजार ५०० मिटर उचाइमा १ करोडभन्दा बढी लगानीमा बनेका ४ होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य होटल ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् । 

बिस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजंघा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजंघा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आएका सन्दीप नेम्वाङले बताए ।

कञ्चनजंघा हिमालको आधार शिविर पुग्नका लागि २ वटा पदमार्ग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्दछ ।

गत हप्ता मात्र साउथ रुट हुँदै फ्रान्सका ७, बेलायतका २ र भारतका १ पर्यटक कञ्चनजंघा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

उनले भने, ‘आज पनि १६ जनाको समूह आउँदैछ । चेकपोस्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।’ साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजंघा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए । १ नम्बर प्रदेशको राजधानी विराटनगर, धरान, दमक तथा संघीय राजधानी काठमाडौंदेखि आन्तरिक पर्यटक कञ्चनजंघा क्षेत्र अवलोकन गर्न आएका छन् ।

काठमाडौंदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजंघा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट) मा पर्दछ । नर्थ रुट हुँदै गत हप्ता मात्र ६० बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताए । कञ्चनजंघा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

Logo