पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

केन्द्रबिन्दु
0
Shares

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । 

फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । 

तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरुको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरुरुपन्देही,स्याङ्जा,तनहुँ,पूर्वीनवलपरासी लगायतका जिल्लाहरुबाट अवलोकनको लागि पर्यटकहरु पुग्ने गरेको बताउँछन् आन्तरिक पर्यटक सागर भुसाल । उनले तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरु लोभ्याउने बताए । 
 
स्थानीय नगर सरकारलेसमेत पर्यटन प्रवद्र्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन  गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाईमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउँछन् ।  

तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्ने सचिव देवकोटाको भनाइ छ । उनले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्यााउन टेवा पु-याउने बताए । 

Logo