काठमाडौं ।
कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’
संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ। प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ। प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।
संघका अनुसार भारतमा चामल उत्पादनमा कमी र भारतले नै भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो। नेपालमा चामल उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातीत चामल हो।
उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको श्रेष्ठको दाबी छ। उनका अनुसार विश्वबजारमा कच्चा पदार्थको मूल्यवृद्धि, भाडा वृद्धि, कच्चा पदार्थ अभावलगायत समस्या कात्तिकमा नभए पनि उद्योगबाट कात्तिकमै उत्पादन भएको र हाल बजारमा आएको खानेतेलको मूल्य बढेको हो।
‘खुद्रा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै तोकिएको मूल्यभन्दा बढी उपभोक्ताबाट असुल गरेका छन्’, श्रेष्ठले भने। यो विषयमा आफूले जानकारी दिए पनि सरकारी निकायले चासो नदेखाएको उनको गुनासो छ। बजारमा देखिएको मूल्यवृद्धि पछाडि व्यापारीको मनपरीलाई उपेक्षा गर्न सकिन्न। तर, यससँगै ग्लोबल मार्केटको प्रभावलाई पनि नकार्न मिल्दैन।
कोभिड १९ कारण विश्वभर कच्चा पदार्थको उपलब्धता न्यून छ। त्यसमाथि कच्चा पदार्थकै मूल्य बढेको छ। कन्टेनर भाडादर झण्डै ३ गुणाले वृद्धि भएको छ। महँगो भाडा तिर्दा पनि समयमा कन्टेनर नपाइने र कोलकाता बन्दरगाहबाट वीरगन्ज सुख्खा बन्दरगाहसम्मको ट्रान्जिट कष्ट (मूल्य) मा वृद्धिलगायत समस्या पनि देखापरेका छन्। यसको प्रभाव कुनै न कुनै रूपमा उपभोग्य वस्तुमा पर्ने र अन्ततः उपभोक्ता मारमा पर्छन्।
अधिकांश उत्पादनमूलक उद्योग आयातित कच्चा पदार्थबाट चलेका छन्। एस टर्मिनल एन्ड लजिस्टिक कम्पनीका सञ्चालक अशोक टेमानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा परेको असरका कारण नेपाली उत्पादनसँगै र भान्छा महँगो भएको हो। यस्ता कारणले दैनिक उपभोग्य वस्तुसहित, निर्माण सामग्री, प्लास्टिकका सामानलगायत सबैको लागत वृद्धि भएको टेमानी बताए। उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापतिसमेत रहेका टेमानीका अनुसार कोभिड–१९ को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले असोज १५ देखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको थियो। चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय डलर पुगेको उनले उल्लेख गरे।
पहिले चीनबाट एक कन्टेनर सामान कोलकाता बन्दरगाहसम्म आयात गर्दा १ लाख रुपैयाँ लाग्थ्यो। अहिले साढे ३ लाख रुपैयाँ तिर्दा पनि आयात गर्न सम्भव नभएको टेमानीले बताए।
अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कोलकातासम्मको भाडादर प्रतिटन ६५ बाट १२० डलर पुगेको छ। ‘कन्टेनर ढुवानी खर्च वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धता र ग्लोबल मार्केटमा कच्चा पदार्थको अभाव र उच्च मूल्यका कारण लागत खर्च तीन गुणाभन्दा बढीले बढेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर उत्पादन लागतदेखि उपभोक्ता मूल्यसम्म परेको हो।’अन्नपूर्णबाट
प्रतिक्रिया