क्यान इन्फोटेक- २०२३ सम्पन्न, ३ लाखले गरे अवलोकन [तस्विरहरु]

क्यान इन्फोटेक- २०२३ सम्पन्न, ३ लाखले गरे अवलोकन [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा काठमाडौँमा भएको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट’ सम्पन्न भएको छ । 

माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी सूचना सञ्चार प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित यस मेलामा ३ लाख मानिसले अवलोकन गरेको क्यानका अध्यक्ष रञ्जितकुमार पोदारले जानकारी दिए । क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको उनको भनाई थियो । 

मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरुहरुले अवलोकन गरेका थिए ।

नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानेको थियो । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितको प्रविधिको प्रशंसा गरेका थिए । त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो देखिएको थियो ।

यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा बढी स्टल रहेका थिए ।

अध्यक्ष पोदारका अनुसार काठमाडौंमा आजबाट सकिएको इन्फोटेक आगामी दिनमा सात प्रदेशमा पनि सञ्चालन हुँदै छ । जसअनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने उनले जानकारी दिए ।  

तस्विरहरु-

 

 

 

 

 

 

Logo