नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा बढ्यो पर्यटकको चहलपहल

नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा बढ्यो पर्यटकको चहलपहल

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरेर लेकसाइडमा विगत जस्तै यस पटक पनि पोखरा होटल सङ्घले १८औँ फेवा नव वर्ष महोत्सवको आयोजना गरेको छ । 

महोत्सवले पोखरा आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षको आगमनसँगै पोखरा घुम्न आउने पर्यटकले रौनकता ल्याएको छ । 

“अहिले पर्यटकीय सिजन हो, नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको आगमन पोखरा हुने गर्दछ, यसैलाई लक्षित गर्दै हामीले थप मनोरञ्जन दिन पर्यटकको पोखरा बसाइँलाई सम्झनलायक बनाउन महोत्सव पनि गर्दै आएका छौँ”, उनले भने । 

यही चैत २९ देखि वैशाख १ गतेसम्म चल्ने महोत्सवमा पर्यटन, संस्कृति र खानाका परिकारमा जोड दिइएको छ । निःशुल्क रुपमा पर्यटकले लेकसाइडका सडकहरुमा सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा, नाचगान, भजनचुड्का र गीतसङ्गीतका मनोरञ्जन पर्यटकले लिन पाउने उनको भनाइ छ । 

यही अवसरमा होटलको प्रकाशित दरमा २० प्रतिशत छुट दिइएको सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पोखराका होटलहरु ७० प्रतिशत भरिएका छन् । यो ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । लेकसाइडमा सात सय पर्यटकीय होटल र पोखराभर एक हजार दुई सय पर्यटकीय स्तरका होटल छन् । 

परिवारको साथ बुटवलबाट पोखरा घुम्न आएका व्यवसायी रामसुन्दर श्रेष्ठले पोखरा जति घुमे पनि नथाकिने सहर भएको बताए । उनले आफू व्यावसायिक सिलसिलामा धेरै पटक पोखरा आए पनि सम्पूर्ण परिवारका साथ भने पहिलोपल्ट आएको जानकारी दिए । 

उनले भने, “म पोखरा घुमेर कहिल्यै थाक्दिन, अहिले छोराछोरीको परीक्षा सकिएपछि श्रीमतीका साथमा पोखराका विभिन्न पर्यटकीय गन्तव्य घुमिरहेका छौँ, निकै रमाइलो भइरहेको छ ।” उनले नयाँ वर्षका अवसरमा पोखरामा लेकसाइड किनारामा भइरहेको महोत्सवले पनि थप मनोरञ्जन प्रदान गरेको बताए ।  

फेवाताल किनारमा दृश्यावलोकन गरिरहेकी काठमाडौँकी आरती घिमिरेले पनि फेवाताल र हिमशृङ्खलाको सुन्दर दृश्यले सधैँ लोभ्याउने बताइन् । स्टाफ नर्स अध्ययनरत उनले धम्पुस तथा घान्द्रुकतिर गएर लालीगुराँस र पृष्ठभूमिमा हिमाल राखेर फोटो खिच्न रहर पनि यसपालि पूरा गर्ने योजना रहेको सुनाइन् ।  

कोभिड–१९ लगायत विभिन्न कारणले पर्यटन क्षेत्र निकै प्रभावित भइरहेको अवस्थामा आन्तरिक पर्यटकको उपस्थितिले लेकसाइडमा केही रौनकता ल्याएको होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेलले बताए । “विभिन्न घटनाक्रमले पर्यटनमा निकै प्रभाव पारिरहेको छ, तथ्याङ्कमा पर्यटन आगमनको अवस्था राम्रो देखिए पनि पोखरामा अझै पनि सोचेजस्तो पर्यटकको आगमन भएको छैन, नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकको चहलपहले केही राहत दिएको छ”, उनले भने ।

उजले पर्यटकीय स्तरका होटल लगायतका पूर्वाधारमा खर्बौंको लगानी भएकाले आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने गरी राज्य स्तरबाटै पर्यटक प्रवरद्धनका कार्यक्रम हुन आवश्यक रहेको बताए । उनले फेवा नव वर्ष महोत्सवले पनि पर्यटन प्रवरद्धनमा सघाउ पु-याएको बताए ।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने मेला महोत्सवले थप सघाउ पुग्ने बताए । उनले निकै कठिन अवस्थाबाट गुज्रिरहेको पोखराको पर्यटनलाई पुनरुत्थान गर्न राज्यले छिटोभन्दा छिटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानको पहल गर्न आवश्यक रहेको बताए । 

Logo