सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

केन्द्रबिन्दु
0
Shares

स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन् ।

गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी ३ वर्षदेखि यो पेशामा आबद्ध छन् । अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्दै आएका छन् ।

रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्की लगायतका जिल्लामा वार्षिक रूपमा २ लाख रुपैयाँ बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए ।

‘सिजनमा मासिक २० देखि ३० हजार रुपैयाँ बराबरको फूल तथा माला बिक्री हुन्छ,’ उनले भने, ‘अफसिजनमा पनि विभिन्न संघसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक १५ देखि २० हजार रुपैयाँको फूल तथा माला बिक्री हुने गरेको छ ।’

शुरूमा आफ्नै घर रुपाखानीमा फूलखेती गरेका उनले कारोबार राम्रो भएपछि २ वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन् । सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ ।

परम्परागत रूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमी रूपमा सयपत्री फूलखेती नगरेको उनले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताए । रुपाखानीमा खेती गर्दा परिवारको साथ पाएका उनले छर्तिमा भने एक्लै काम गर्छन् ।

‘कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु,’ उनले भने, ‘एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।’

रानाले विवाह, पूजा, विभिन्न संघसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । उनले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती शुरू गरेको बताए ।

Logo