टोखावासीलाई चाकु बनाउने चटाराे [तस्विर/भिडियाेसहित]

टोखावासीलाई चाकु बनाउने चटाराे [तस्विर/भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ। टोखा नगरपालिका वडा नं. २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन र बजार पुर्याउन भ्याइनभ्याइ भएको हो।

टोखाका व्यवसायीहरु अहिले दिनभर मात्र नभई राति पनि चाकु बनाउन व्यस्त रेहेका छन्। उनीहरुको यो व्यस्तता मंसिरदेखिको हो। कोही चाकु बनाउनका लागि सखर पकाउन व्यस्त छन्, कोही मेसिनमा राखेर पेल्न त कोही चाकुलाई आकार दिन जुटिरहेका छन् । आ-आफ्नो कम्पनीको लोगोसहित प्याकेजिङ गर्ने काम पनि चलिरहेको छ । टोखाका व्यवसायीहरुको यो व्यस्तता, पुषको अन्तिमसम्मको हो। माघ १ गते माघे संक्रान्तिको अवसरमा टोखाका एक व्यवसायीले औसतमा २० लाखसम्मको कारोबार गर्ने गरेका छन्।    

टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाकाे असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। यसका साथै यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा समेत उत्तिकै माग छ। 

नगरपालिकाले पनि उखु, सखर जस्ता चाकुका लागि आवश्यक कच्चा प्रदार्थ जुटाउन सहयोग गरेको यहाँका व्यवसायी बताउँछन्। जसले आफूहरुलाई व्यवसाय गर्न प्रोत्साहन मिलेको उनीहरुको भनाइ छ। 

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो। टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु १ सय ३० देखि  १ सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ। 

भिडियाे- https://fb.watch/psXqhgIFYO/

Logo