कोरोनाले थलियो यातायात क्षेत्र, १० खर्ब लगानी जोखिममा

कोरोनाले थलियो यातायात क्षेत्र, १० खर्ब लगानी जोखिममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने देखिएको छ ।

कोरोना महामारी सुरु भएपछि त्यसको न्युनिकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । यस यता पूर्ण रुपमा बन्द भएका सार्वजनिक यातायात संचालन हुन पाएका छैनन् । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बाै रुपैँयाँ जोखिममा परेको छ । सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्व रुपैँयाँ बैंकहरुको लगानी छ ।

लामो तथा छोटो दूरीका गरी ३ लाखभन्दा बढी साना, ठूला सार्वजनिक यातायातका सवारी हाल ग्यारेजमा थक्किएर बसेका छन् । लकडाउन भएको झण्डै ३ महिना हुनै लाग्दा पनि सरकारले लकडाउन खुकुलो पार्ने विषयमा निर्णय नगर्दा एकातिर छोटो तथा लामो दुरीका सवारी साधनहरु ग्यारेजमा थन्किएर बसेका छन् भने अर्कातिर यस क्षेत्रमा कार्यरत लाखौँ मजदुरहरु बेरोजगार बनेका छन् । प्रत्यक्ष रुपमा ६० लाख भन्दा बढी मजदुरहरु यस क्षेत्रमा कार्यरत छन् । झण्डै ३ महिना लकडाउन हुँदा अहिले मुलुकैभरी ३ लाखभन्दा बढी सार्वजनिक यातायातका साधनहरु थन्किएका छन् ।

लामो समयसम्म यातायातका साधनहरु थन्किँदा खिया लाग्ने र कुहिन थालेका छन् । जसका कारण यस क्षेत्रको खर्बाै लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् । ‘सार्वजनिक यात्रुवाहक बस कुहिएर काम नलाग्ने अवस्थामा पुग्न लागे, हाम्रो लगानी ठुलो जोखिममा भयो ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । लामो समय थन्किँदा ८० प्रतिशत सवारी साधन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको महासचिव सिटौलाको भनाइ छ । कोरोनाले सबैभन्दा बढी क्षति भएको यातायात क्षेत्रका लागि बजेटमा पनि कुनै राहत नआएको भन्दै उनले दुखेसो गरे । यातायात व्यवसायीले किस्ता तिर्ने समय बढाउनुपर्ने र लकडाउन भरी ब्याज लिन नपाइने माग गरेका छन् । व्यवसायीहरुले पनि आफ्ना विभिन्न सुझावहरु कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिमा बुझाउन थालेका छन् ।

लामो समय आम्दानी गर्न नपाएका व्यवसायीहरुले बैंकको किस्ता र ब्याज तिर्नै नसक्ने अवस्था आएको व्यवसायीको भनाइ छ । बुटवल बस्दै आएका गुल्मी अर्जैका यातायात व्यवसायी खिमराज ज्ञवालीले भने, ‘किस्ता र ब्याज तिर्न गाह्रो भयो, अब बैंकलाई गाडी नै लैजाउ भन्ने अवस्था आएको छ ।’ ज्ञवालीले भैरहवादेखि काठमाडौँ चल्ने २ वटा मिनी वस किनेका छन् । उनले तिनाउ विकास बैंक, कैलास विकास बैंक र धर्ती वचत तथा ऋण सहकारी संस्थाबाट ती बस निकालेका हुन् । लकडाउन भएको सुरु सुरुका दिनहरुमा बैंकहले किस्ता र ब्याजका लागि फोन गर्ने गरेको भए पनि यतिबेला भने नगरेको उनले बताए ।

Logo