छोइ नसक्नु हुने भयो सुन, लकडाउन पछि १ लाख प्रतितोला नाघ्ने

छोइ नसक्नु हुने भयो सुन, लकडाउन पछि १ लाख प्रतितोला नाघ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनका कारण लगातार बढेको सुनको मुल्य १ लाख रुपैँयाँ नाघ्ने भएको छ । लकडाउनका कारण अन्य व्यवसाय चौपट भएका बेला अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएपछि सुनको मूल्य आकाशिएको हो । अहिले सुनको मूल्य मुद्रास्फीतिका कारण उकालो लागिरहेको होइन । अमेरिका तथा अन्य मुलुकहरुको केन्द्रीय बैंकले कोभिड–१९ को मन्दीका कारण निम्तिएको मुद्रा संकुचन (डिफ्लासन) को विपरित जोखिमसँग जुध्नका लागि ब्याजदरमा कटौती गरेकाले सुनको मूल्य लगातार रुपमा उकालो लागेको हो ।

यतिबेला सरकारी ऋणपत्र लगायतको ब्याजदर तल ओर्लिएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको देखिन्छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र शिथिल बन्दै गइरहेकाले मूल्यवृद्धि हुने धेरैको अनुमान छ । सुन वृद्धिकै कारण लगानी सुरक्षित गर्न लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ एक्कासी बढिरहेको छ । गत चैत १० मा ७७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो । चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि नेपालमा सुनको कारोबार भएन । अन्तर्राष्ट्रिय बजारमा भने कारोबार भइरह्यो ।

सुनचाँदी व्यवसायी महासंघले गत चैतमा सुनको मूल्य छापावाला प्रतितोला ७७ हजार र तेजाबी सुनको मुल्य प्रतितोला ७६ हजार ७ सय रुपैँयाँ तोकेको थियो । सरकारले बजेटमार्फत सुनका भन्सार प्रतितोला २ हजार ३२ रुपैयाँ भन्सार बढाएको छ । सो भन्सार पनि सुनको मूल्यमा जोडिन्छ । यसरी हेर्दा सुनको मूल्य ८० हजारको हाराहारीमा पुग्छ । यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गत बुधबार सुनको मूल्य तोलाको ८६ हजार ८० रुपैयाँ तोकेको थियो । अघिल्लो साता सार्वजनिक मूल्यमा बजेटमार्फत बढाइएको भन्सार जोड्दा तोलाको करीब ८८ हजार रुपैयाँको हाराहारीमा सुनको मुल्य पुग्ने देखिन्छ । तर सुन व्यवसायी महासंघले भने ९० हजारको हाराहारीमा पुग्ने जनाएको छ । सुनको भाउ यसरी लगातार आकाशिएपछि सर्वसाधारणले किन्नै नसक्ने अवस्था आउन सक्ने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा सुनको खरिद भन्दा भोक मेटाउने कुरा प्रमुख भएकाले अब सर्वसाधारण सुनमा त्यति आकर्षित नहुन सक्ने महासंघको आँकलन छ ।

कोरोना महामारीको असरलाई न्युनिकरण गर्न सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । त्यस समयदेखि यता विभिन्न उद्योग व्यवसाय सबै ठप्प छन् । मुलुकैभरी ठप्प भएपछि सुन बजार पनि पूर्ण रुपमा बन्द अवस्थामा छन् । गत चैत्रको दोस्रो सातादेखि मात्रै मुलकमा लकडाउन भएपनि विश्वका अन्य मुलुकहरुमा कोरोनाको असर देखिएकाले सुन बजार प्रभावित भएको छ । अहिले सरकारले लकडाउन गरेको दुई महिना नाघिसकेको छ । यो अवधीमा सुन बजारले २२ अर्ब रुपैँयाँ बराबरको घाटा बेहोरेको छ । महासंघका अनुसार लकडाउन भएको अवधीभरी सुन बजारले सो घाटा बेहोरेको हो ।

Logo