नेपाल राष्ट्र बैंकको राहत प्याकेज अर्काे साता आउने, क्षतिको अवस्था हेरेर राहत दिने तयारी

नेपाल राष्ट्र बैंकको राहत प्याकेज अर्काे साता आउने, क्षतिको अवस्था हेरेर राहत दिने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आगामी साता राहत प्याकेज ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण क्षति पुगेका विभिन्न क्षेत्रलाई लक्षित गर्दै राहत प्याकेज ल्याउने तयारी गरेको हो । अहिले राष्ट्र बैंकमा कोरोनाका कारण कुन क्षेत्रमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा छलफल भइरहेको छ । राष्ट्र बैंकले कुन क्षेत्रलाई कस्तो राहत दिन सकिन्छ भन्ने विषयमा अहिले अध्ययन गरिरहेको छ । यी सबै क्षेत्रमा राहत प्याकेज ल्याउने बारे राष्ट्र बैंकले अन्तिम छलफल गरिहेको हो । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने–‘कुन क्षेत्रमा बढी क्षति पुगेको छ, त्यसका आधारमा राहत प्याकेज अर्काे साता ल्याउने तयारी गरिरहेका छौँ ।’

कोरोना भाइरस संक्रमणका कारण मुलुकका पर्यटन, उद्योग व्यवसाय, वैदेशिक लगानी, रेमिट्यान्स लगायतका क्षेत्र प्रभावित भएका छन् । जसमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको र त्यस क्षेत्रमा राहत बढाउने तयारी राष्ट्र बैंकले तयारी गरेको छ । ‘सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ, बढी प्रभावित भएका क्षेत्रमा राहत बढाउने गरी राहत प्याकेज ल्याउन छलफल भइरहेको छ ।’–डेपुटी गभर्नर शिवाकोटीले भने ।

यस अघि राष्ट्र बैंकले ल्याएको राहत चैत मसान्तका लागि लक्षित थियो । अब आउने राहत प्याकेज असारलाई लक्षित गरेर ल्याइने उनको भनाइ छ । राष्ट्र बैंकको ६५ औँ वार्षिक उत्सवको अवसरमा चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा राष्ट्र बैंकले गरेको छ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा वित्तीय प्रणालीमा लगानी योग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई कृषि, उर्जा, पर्यटन, पूर्वाधार, साना तथा मझौला उद्यम, लगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा राष्ट्र बैंक कटिबद्ध रहेको शिवाकोटीले बताए ।

राष्ट्र बैंकका अनुसार अर्थ मन्त्रालयसँग राहत प्याकेजका विषयमा छलफल भइरहेको छ । कोरोनाका कारण शिथिल बनेको समग्र अर्थतन्त्रलाई उठाउने तथा साना व्यवसायीको हित हुने गरी राहत प्याकेजको तयारी भइरहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार कोरोना संक्रमणका कारण विप्रेषण आप्रवाह घट्ने, मुद्रास्फिति बढ्ने, वैदेशिक लगानी घट्ने भइरहेको छ । जसका कारण विदेशी सञ्चितिमा स्वतः असर पर्ने देखिन्छ । सञ्चितिमा कमी आउँदा आयात पनि स्वतः प्रभावित हुन जान्छ । राष्ट्र बैंकले यस अघि नै कारोनाका कारण १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्ने प्रक्षेपण गरिसकेको छ । यसले समग्र आर्थिक गतिविधिमा संकुचन ल्याउने छ । जसका कारण आर्थिक वृद्धिदर समेत घट्ने आँकलन गरिएको छ । यसले वित्तीय स्थायित्वमा नै असर पार्छ । वित्तीय स्थायित्वलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले प्रयत्न गरिरहेको डेपुटी गभर्नर शिवाकोटीको भनाइ छ ।

Logo