राजनीतिक अस्थिरताको प्रभाव : बजारमा खानेतेलदेखि निर्माण सामग्रीसम्मको मूल्यबृद्धि उच्च

राजनीतिक अस्थिरताको प्रभाव : बजारमा खानेतेलदेखि निर्माण सामग्रीसम्मको मूल्यबृद्धि उच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरतातिर धकेलिँदै गएको छ । जसकोे प्रभाव नेपाली बजारमा पर्न थालेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ । नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर थियो । चार महिनापछि भने बजारमा तरकारी, फलफूल लगायत खाद्यान्नको मूल्य लगातार रुपमा बृद्धि हुँदै जान थाल्यो ।

असोज महिनामा तरकारीको मूल्य बढेर विगत १० वर्ष यताकै महँगो हुँदा प्रतिकेजी एक सय रुपैयाँ भन्दा कमको तरकारी नै पाउन मुस्किल हुँदै गयो । यसरी कोरोनाको प्रभावले रोजगारी गुमाएर बसेका आम उपभोक्ताको ढाड सेक्ने गरी बढेको मूल्यले धेरै उपभोक्ताको चुलो बल्न सकेन । तर पछिल्लो समय भने तरकारीको मूल्य क्रमिक रुपमा घट्दै गएको छ ।

खाने तेल तथा खाद्यान्नको मूल्य बजारमा अत्याधिक रुपमा बढ्न थालेपछि उपभोक्ता मारमा पर्न थालेका छन् । खुद्रा व्यापारीहरुका अनुसार बजारमा होलसेलबाट नै मूल्यबृद्धि भएर नयाँ मूल्यको स्टिकर टाँसेर आएकाले त्यही मूल्य अनुसार बेच्ने गरेको बताएका छन् । व्यवसायीहरुले अझ तेल मिलहरूले यो महिनाबाट नै प्रतिलिटर २ सयदेखि २५० रुपैयाँसम्म मूल्य बढेर आउने बताएका छन् । यसरी बजारमा तेल मिलदेखि व्यवसायीहरुले भारतमा निर्यात गर्नका लागि बढाएको मूल्य नेपाली बजारमा पनि मनलाग्दी रुपमा लगाउन थालेकाले उपभोक्ताहरु मारमा परेका हुन् ।

गेडागुडीमा पनि मूल्यबृद्धि
त्यस्तै, बजारमा गेडागुडीको मूल्य पनि बढेको छ । हरियो केराउको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ भने अन्य गेडागुडीको मूल्य सामान्य बढेको छ । बजारमा अहिले हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयामाँ कारोबार हुँदै आएकोमा अहिले १ सय २५ रुपैयाँ पुगेको छ । हरियो केराउ मात्रै होइन अन्य दाल, चना, राजमा, बोडीको मूल्य पनि पहिलाको भन्दा केही मात्रामा बढेको छ ।

कुखुराको मासु र अण्डाको पनि मूल्यबृद्धि
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको थियो । लकडाउनका बेलामा कुखुुराको मासु बिक्री नभएर पोल्ट्री व्यवसायीहरुले आफूले पालेका कुखुरा खाल्डोमा गाड्नु परेको थियो । तर लकडाउनकै विचमा केही मूल्य बढ्यो । भदौ महिनामा आएर कुखुराको मासुको मूल्य गुन्द्रुकको मूल्य भन्दा पनि सस्तो भएको थियो ।

लकडाउन हुँदा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ रहेको थियो । भदौ असोज महिनामा आएर १ सय ९० रुपैयाँ प्रतिकेजीसम्म आएको थियो भने कुखुराको अन्डाको मूल्य पनि त्यतिबेला प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । तर अहिले ब्रोइलरको मासु ३ सय ९० रुपैयाँसम्म रहेको छ भने अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ ।

निर्माण सामग्रीको मूल्य निरन्तर बृद्धि
पूर्वाधार तथा विकास निर्माणको सिजन शुरु भएसँगै बजारमा निर्माण सामग्रीको मूल्य पनि अत्याधिक रुपमा बढेको छ । निर्माण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर आम उपभोक्तामा पर्न थालेको छ । आम उपभोक्ताले कोरोना महामारी सहज होला र निर्माण सामग्रीको मूल्य पनि घट्ला भन्ने आशा गरेका थिए ।

यसरी निर्माण व्यवसाय शुरु भएसँगै पूर्वाधार निर्माणका लागि अतिआवश्यक सामग्री गिट्टी, बालुवा, फलामे छड र डण्डीको अत्यधिक मूल्य वढेको छ । पछिल्लो पटक सरकारले देशैभरि अवैधरुपमा उत्खनन् भएका गिट्टी, बालुवा रोक लगाउने निर्णय गरेकाले बजारमा गिट्टी, बालुवाको अभाव हुँदै गएपछि बजारमा निर्माण सामग्रीको मूल्य बढ्न थालेको निर्माण व्यवसायीले बताउँदै आएका छन् ।

एक महिना अघिसम्म एक टिपरको २० देखि २२ हजार पर्ने गिट्टी, वालुवा अहिले ३० हजारसम्म पर्ने गरेको छ । खपत बढी हुने सिजनमा नै गिट्टी, बालुवा अभाव शुरू हुन थालेको तथा बजारमा माग अनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको हो । अहिले डन्डीको मूल्य प्रतिकेजी १५ देखि २० सम्म र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्धि भएको छ । त्यस्तै, फलामे छडको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढिरहेकाले नेपालमा पनि यसको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

उल्लेखि मूल्यवृद्धि भएका वस्तु केही उदाहरण मात्र हुन् । अझ पछिल्लो राजनीतिक अस्थिरताले मूल्य बृद्धिले आकाश छुने र व्यवसायीहरुले ठूलो चलखेल गर्ने अवसर पाउने भएका छन् । यसरी मूल्य बढ्नुको कुनै वास्तविक कारण छैन । यो मूल्यबृद्धि हुनुमा व्यवसायीहरुको मनलाग्दी देखिएको छ ।

खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । तर बजार मूल्य नियन्त्रण गर्ने दायित्व रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तिव्र बनाएको छ भने पनि बजारको मूल्य बृद्धि नियन्त्रण गर्न सकेको छैन ।

उपभोक्ताकर्मी र सरोकारवालाको कस्तो छ प्रतिक्रिया ?

अन्तर्राष्ट्रिय बजारमा तेल बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएकाले तेलको मूल्य पनि बढेको तेल मिलहरुले बताएकाले बजारमा उपभोग्य वस्तु खाने तेलको उत्पादक अमृत, कुक, रामदेव, धारा, सनफ्लो, स्वस्तिक लगायत ब्रान्डका तेलको मूल्य बढीरहेकोे खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनका अनुसार तेल मिलहरुले भारतमा पाम आयलको तेल प्रतिबन्ध भएपछि सोयाविनको नाममा निर्यात हुन थालेकाले नेपाली बजारमा भन्दा भारतमा निर्यात गर्दा मिल व्यवसायीहरुलाई एक लिटरमा नै ५० देखि ६० रुपैयाँ फाइदा हुने भएकाले भारतमा बेच्ने मूल्य नै नेपाली बजारमा आएको बताए । तेल व्यवसायीहरुले नेपाली बजारमा अभाव गराएर भारतमा निर्यात बढाउन थालेका छन् । उनले भने,‘तेलको मूल्य बढेको स्थानिय, प्रदेशदेखि संघको सरकारलाई थाहा छ तर पनि उपभोक्तावादी र सरकार नै यो विषयमा मौन बसेका छन् ।’ यसरी मौन बस्नाले व्यवसायीहरुले आफूखुसी मूल्यबृद्धि गरेर कमाउने दाउमा मनपरी ढङ्गमा अगाडि बढेको उनको भनाई छ ।

महासंघले बजार अनुगमनकारी निकाय तथा सरकारलाई जानकारी गराएको तर सरकार नै तेल मिलवालाकै पक्षमा रहेकाले अझ उनीहरुलाई मूल्य बढाउने मद्दत हुने उनले बताए । उनले भने,‘सरकारी निकायले नै मूल्य बढ्नुको वास्तविकता थाहा नपाई व्यवसायीहरुले भनेको जस्तै, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यहाँ पनि बढ्यो ।’

यसरी बजारमा खाने तेलदेखि निर्माण सामाग्रीसम्मको मूल्यबृद्धि हुनुमा अहिलेको राजनीतिक अस्थिरता तथा सरकारको बजार नियमन गर्ने निकायको कमजोरीले गर्दा उपभोक्तालाई चर्को मूल्यको भार परेको उपभोक्ताकर्मीहरुले बताएका छन् ।

अहिलेको बजार अनुगमन देखावटी मात्रै रहेको र नियमनकारी निकायका कर्मचारीले नै व्यापारीको भाषा प्रयोग गर्ने भएकाले कालोबजारी र मूल्यबृद्धि गर्ने व्यवसायीहरुको मनोवल उच्च हुदै गएकाले पनि मूल्य बृद्धि बढीरहेको उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

उनका अनुसार अहिले नियामक निकायले अनुगमन नै नगरेको होइन, गरिरहेको छ । सरकारको भत्ता पचाउन मात्रै काम भएको तर उपभोक्ताको हितका लागि भन्दा पनि व्यापारीको हितका लागि काम भएकाले बजार मूल्य नियन्त्रण हुन सकेको छैन ।

अहिले अनुगमनकारी निकाय र व्यवसायीसँगकै मिलेमतोमा ठूलालाई कालोबजारी गर्नेलाई उन्मुक्ति र सानालाई जरिवाना गरिएको छ । त्यसैले बजार सुधार गर्न उद्योग र आयातकर्तालाई कानुनी दायरामा ल्याउनु आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै, अर्का कानुन व्यवसायी तथा उपभोक्ता हित संरक्षण मञ्चका सचिव कुमारी खरेलले अहिलेको परिस्थिती आउनु भनेको राजनीतिक दलदेखि तीनै तहका सरकारले र आम उपभोक्ता नै प्रमुख दोषी देखिएको बताइन् । उनले तेल लगायत निर्माण सामग्रीको मूल्यवृद्धिबारे सरकारले सूक्ष्म अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनु पर्ने बताइन् । यदि सरकारले यस्तो गर्न नसके मूल्य अझै बढ्न सक्ने उनले बताएकी छिन् ।

यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार नियमनकारी निकायको बजार अनुगमन बजार सुधारभन्दा राजस्व संकलनमा केन्द्रीत भएकाले मूल्यबृद्धि नियन्त्रण हुन नसकेको बताएका छन् । अहिले कुनै पनि बस्तुको मूल्यबृद्धी हुनु पर्ने अवस्था होइन तर पनि खाने तेल, मासु र निर्माण सामग्रीको मूल्यवृद्धि भएको छ । यो मूल्यबृद्धि मनोमानी भएको उनको भनाइ छ । अहिलेको राजनीतिक अस्थिरता र आन्दोलनका कारण यस्तो भएको हो । अहिले बजार नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सरकारकै निर्देशनमा चलेकाले बजार नसुध्रिएको उनको भनाइ छ ।

के गर्दै छ अनुगमनकारी निकाय ?
बजारमा भएको कालोबजारी तथा मूल्यबृद्धि नियन्त्रणको जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाएको छ । विभागले विभिन्न समूह बनाएर बजार अनुगमनलाई तिव्रता दिइरहेको भए पनि नियन्त्रण भएको छैन ।

अहिले विभागले अनुगमनलाई तिव्रता दिएकाले व्यापारीले अनुचित ढङ्गले मूल्य निर्धारण गरेको पाइए उपभोक्ता ऐन अनुसार सजाय र जरिवाना हुने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

उनका अनुसार अनुचित रुपमा व्यापारीहरुले क्रियाकलाप गरेको पाइएमा विभागको अनुगमन टोलीले तीन लाख रुपैँयाँसम्म जरिवाना गर्नेछ । कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले कालोबजारीका घटनामा एक वर्षसम्म कैद र १० लाख रुपैँयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । साथै उक्त कानुनमा प्रत्येक थोक वा खुद्रा विक्रेताले नेपाल सरकारले तोकिदिएको माल वस्तुको मूल्यसूची सबैले देख्नेगरि विक्रीस्थलमा टाँग्नुपर्ने व्यवस्था गरेको छ । तर नेपाली बजारमा व्यवसायीहरुले मूल्यसूची राखेको पाईंदैन ।

अहिले तेलको मूल्य बढेकाले नै बजार अनुगमनलाई दैनिक ५ देखि ६ वटा टोली बनाएर खटिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । उनका अनुसार अहिले विभागले व्यवसायीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको र व्यवसायीहरुबाट अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा आयातमै महँगो भएपछि मूल्यबृद्धि भएको हो ।

उनले भने, ‘विभागले व्यवसायीहरुसँग अहिले खरिद र बिक्री वितरणको विवरण मागेकाले एक–दुई दिनमा रिपोर्ट आउँछ त्यही अनुसार एक्सनमा जान्छौं ।’ विभागको तथ्यांक अनुसार पुस २३ गते १४ व्यवसायिक फर्ममा अनुगमन गरेको छ । जसमध्ये तीन वटा खाद्यान्न फर्म र बाँकी कपडा पसल छन् । २२ गते मासु, किराना, निर्माण सामग्री, औषधि, फर्निचर, मदिरा पसलसहित १६ व्यवसायिक फर्ममा अनुगमन गरेको छ ।

पुस २१ मा मदिरा स्टोर, पानी उद्योग, किराना पसल, निर्माण सामग्रीसहित १३ फर्ममा अनुगमन गरिएको छ । २० गते पनि खाद्यान्न, मदिरा, किरानासहित १३ वटा फर्ममा अनुगमन गरिएको विभागको तथ्यांक छ । बजारमा विभागले अनुगमन गरे पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन ।

Logo