‘जनताले अनुभूति गर्ने र व्यवहारमा लागू हुने योजना बनाऔं’ -उपप्रधानमन्त्री खड्का

‘जनताले अनुभूति गर्ने र व्यवहारमा लागू हुने योजना बनाऔं’ -उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउने पर्नेमा जोड दिएका छन् ।

मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजना र १६औँ आवधिक योजनाका बारेमा छलफल गर्ने क्रममा उक्त कुरा बताएका हुन् । उनले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६औँ योजना तर्जुमा गर्न सुझाव दिए ।

योजना बनाउँदा विभिन्न कारणले विकास निर्माणमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्तिसहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको उनले ध्यानाकर्षण गराए । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागू हुनेगरी बनाउनेपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो ।

यस्तै, उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

उपप्रधानमन्त्री खड्काले अहिले विकास निर्माण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ती र रुख कटानीको झन्झटिलो व्यवस्थाको सहि विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गरे ।

छलफलको सुरुमा योजना आयोगका उपाध्यक्ष र पदाधिकारीहरुले १६औं आवधिक योजनाको तयारीबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई जानकारी गराएका थिए । उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, सदस्य डा.अनिता शाह ढुङ्गाना, सदस्य सचिव डा.तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो ।

Logo