सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा चाँडै उडान गर्ने तयारीमा निगम

सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा चाँडै उडान गर्ने तयारीमा निगम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको हाे ।

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारका साथ काम गर्न आग्रह गरे । उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, संघीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिए । “नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ”, उनले भने ।

साथै उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीहरूलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकांक्षा पूरा गर्न विशेष जोड दिए ।

साे अवसरमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । यसका लागि समिति पनि गठन गरिएको छ”, उनले भने, “हामी सुर्खेतबाट हवाईसेवा दिन तयारी गरिरहेका छौं ।”

उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फाल्गुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । उनले थप प्रष्ट पार्दै भने, “कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौँ ।”

Logo