युवा उद्यमशीलता प्रवर्द्धनका लागि ‘स्टार्टअप एण्ड इनोभेसन’ कार्यक्रम

युवा उद्यमशीलता प्रवर्द्धनका लागि ‘स्टार्टअप एण्ड इनोभेसन’ कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

विराटनगर । युवा उद्यमशीलता प्रवर्द्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमअन्तर्गत तेस्रो चरणमा सहभागी १८ स्टार्टअपहरुले आफ्नो ‘आइडिया’ बारे प्रस्तुति दिएका छन् ।

संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेशमै उद्यमशिलता विकासतर्फ अभिप्रेरित गर्नुरहेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

नवीन व्यवसायिक अवधारणा भएका युवाहरुलाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशीलता रुपान्तरणका लागि मेन्टरहरुका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवाहरु उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले उल्लेख गरे ।

उनले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको बताउँदै आर्थिक विकासका सम्वाहकका रुपमा रहेको यस वर्गलाई स्वदेशमै व्यावसायिक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशीलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताए । स्टार्टअप कार्यक्रम अन्तर्गत तेस्रो चरणमा सहभागी भएका १८ स्टार्टअप मध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले शून्यबाट शुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपहरुको उदाहरण दिँदै युवाहरुलाई आफुमा निहित सीपको व्यावसायिक विकासका लागि सदैव दत्तचित भएर लाग्न सुझाव दिए ।

संगठनको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयीमान स्टार्टअपहरुमा युवा वर्गको वर्चश्व रहेको वताउदै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे ।

उनले संगठनले युवा उद्यमशीलता विकासका लागि गरेको यस पहललाई सफल वनाउन सबैलाई आग्रह गरे । तेस्रो चरणमा सहभागि स्टार्टअपहरुलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय स्रोत व्यवस्थापनका लागि एन्जल ईन्भेष्टर मार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्टार्टअप उद्यमीहरुले आफनो अवधारणा तथा व्यवसायका बारेमा लगानीकर्ता एन्जल ईन्भेष्टर, व्यावसायिक सेवा प्रदायक, मेन्टर तथा समितिका सदस्यहरु समक्ष प्रस्तुति गरेका थिए । संगठनले तीन वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोस्रो चरणमा १३ जना स्टार्टअपहरु ग्राजुएट भइसकेका छन् ।

Logo