माघ २५ देखि काठमाडाैंमा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना हुँदै, तयारी अन्तिम चरणमा

माघ २५ देखि काठमाडाैंमा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना हुँदै, तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
14
Shares

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकारका लागि आवश्यक रणनीति निर्माणका निन्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएकाे छ ।

आगामी माघ २५ देखि २९ गतेसम्म चल्ने मेला काठमाडाैंकाे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । २९औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्राइभेट लिमिटेड रहेको छ । प्रायोजनका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम एस पावर क्यान इन्फोटेक २०२४ रहेको छ ।
मेलाको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि रहेकाे छ ।

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो । योपटक क्यान इन्फोटेकको टिकेटिड पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु. २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ ।

त्यस्तै, नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिनेछ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ ।

सूचना तथा सञ्चार प्रविधि मेलामा क्यान महासंघका सदस्य सस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथ नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।

यो मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास क्यान महासंघले लिएकाे छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगे आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्धन गरिएको छ। नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ । यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

गल्ली म्याप्समार्फत क्यान इन्फोटेक २०२४ को स्टलको स्थान तथा कम्पनीको ठेगाना म्यापमार्फत प्रदान गरिनेछ । त्यस्तै, मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। यसअन्तर्गत infotech.can.org.np मा रेजिस्ट्रेसन गरी भर्चुअल अवलोकन गर्न सकिनेछ ।

क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ। मेलामा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिए‌का प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने र मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने क्यान महासंघकाे दाबी छ । याे मेला सम्पन्न भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने पनि जानकारी गराइएकाे छ ।

Logo