पुस महिनामा मात्रै नेपाल भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स, शोधनान्तर बचत कति छ ?

पुस महिनामा मात्रै नेपाल भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स, शोधनान्तर बचत कति छ ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो ।

गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ ।

यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार विस्तृत मुद्राप्रदाय छ दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव तीन प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन छ दशमलव छ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमललव नौ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।

Logo