नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण प्रगति ७० प्रतिशत

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण प्रगति ७० प्रतिशत

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्गकोनिर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति भने ७०.३४ प्रतिशत मात्र पुगेको छ।

उक्त २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गका लागि हालसम्म ९८.८० प्रतिशत अर्थात् २ हजार ६ सय ५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको छ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको अवस्थाबारे आयोजनाकोप्रगति विवरण समितिले सार्वजनिक गरेको हो।

त्यसअघि समितिसभापति प्रकाश पन्तसहितको टोलीले आयोजनाको भौतिक प्रगति हेर्न स्थलगत निरीक्षणमा पुगेको थियो। आयोजनाका अनुसार सुरुङमार्गमा पर्ने १२ वटा पुल र फ्लाइओरभर बनाउने कामको भौतिक प्रगति २७.४८ प्रतिशत पुगेको छ। १ हजार ८ सय ७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ।

ट्रान्समिसनलगायत विविध काम ५६.९९ प्रतिशत र आयोजना स्थलमा पर्ने घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति भरणतर्फ ९५.६६ प्रतिशत काम पुरा भएको छ। जग्गाको मुआब्जा वितरण ९५.२१ प्रतिशत भएको आयोजनाले जनाएको छ।

निरीक्षणपछि समिति सभापति पन्तले भने,‘आयोजनाको मुआब्जा वितरण लगायतको केही सामान्य समस्या बाँकी रहेको देखिएको छ। त्यसलाई सरकारले समयमै टुंग्याएर द्रुत गतिमा काम गरे अबको एक वर्षभित्रमा सुरुङमार्ग सम्पन्न हुने देखिन्छ। ब्रेक थ्रु गर्ने कुरा एकदम छोटो समयमा पनि हुन सक्ने सम्भावना छ।’

Logo