‘नेपाली भुगोल विपन्न छैन, राजनीतिले विपन्न बनायो’ ‍-अध्यक्ष पाण्डे

‘नेपाली भुगोल विपन्न छैन, राजनीतिले विपन्न बनायो’ ‍-अध्यक्ष पाण्डे

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल गुणस्तरीय पोशाक उत्पादन र निर्यात दुवैको लागि सक्षम रहेको बताएका छन् । उनले भुगोलका कारणले भन्दा पनि नेपाल रानीतिक कारणले गर्दा विपन्न भएको टिप्पणी गरे ।

बिहीबार ललितपुरमा ‘सोर्सिङ एट म्याजिक’ व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले स्वदेशी उत्पादनलाई सरकारले प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले युवा पलायनलाई राजनीतिक नेतृत्व र सरकारले चाहे छोटो समयमै रोक्न सक्ने धारणा राखे । साथै उनले नेपाल भुगोलको कारणले नभएर राजनीतिका कारणले विपन्न भएको तथा विदेशमा व्यक्ति निर्यात गर्ने भन्दा वस्तु निर्यातलाई बढाउनुपर्ने बताए ।

‘हाम्रो उद्योगमा काम गरेका कोहीपनि साथीभाइहरु बाकसमा फर्किन परेको छैन र हामी त्यो वातावरण बनाउन पनि चाहँदैनौ । हामीले व्यक्ति निर्यात गर्ने होइन वस्तु निर्यातमा ध्यान दिऔं । भुगोल विपन्न हुँदैन । राजनीति जोडिएका कारण नेपाल विपन्न भएको हो । यसलाई छोटो समयमै पुर्नजीवित गरेर विकासमा फड्को मार्न सक्ने सम्भावनाहरु धेरै छन् । हामीले सरकार, विभिन्न संघ र अरुलाई गाली गरेर हुने केही होइन’, पाण्डेले भने ।

सन् २०२४ को फेब्रुअरी १३ देखि १५ सम्म अमेरिकाको लस भेगास शहरमा फेब्रुअरी १३ दखि १५ सम्म ‘सोर्सिङ एट म्याजिक’ व्यापार मेला आयोजना हुन लागेको छ ।
नेपालबाट ६ जना प्रतिनिधि उद्योगले उक्त व्यापार मेलामा सहभागी गराउने पाण्डेले जानकारी दिए । पाण्डेकै नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डल भोलि त्यसतर्फ जाँदैछन् ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रतिनिधिको रुपमा यस मेलामा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा पनि सहभागी हुनेछन् ।

उक्त व्यापार मेलामा उद्योगहरु प्योर क्लोथिङ्गका तर्फबाट पशुपतिदेव पाण्डेले टोलीको नेतृत्व गर्दै सहभागिता जनाउनेछन् ।

यस्तै, हिमालयन कटन एण्ड फेशन इन्टरनेशनल प्रालिका तर्फबाट बसन्तराज अधिकारी, युनाइटेड फेशन एण्ड निटिश प्रालिका थोमनाथ बस्याल, शिवशक्ती गार्मेण्ट प्रालिबाट शिवप्रसाद भट्ट, जम्फा निटिङ्ग इण्डस्ट्रिज प्रालिका तर्फबाट सुरेशमान श्रेष्ठ एवं सेतीदेवी एक्सपोर्ट एण्ड इम्पोट प्रालिका तर्फबाट गणेशराज पाण्डेले आ–आफ्ना उद्योगहरुबाट उत्पादित नेपाली तयारी पोशाकहरु प्रदर्शन गर्नेछन् ।

विश्व फेशन बजारमा महत्वपूर्ण मानिएको ‘सोर्सिङ एट म्याजिक’ व्यापार मेलामा नेपाली तयारी पोशाक उद्योगको बजार प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रको छ । सो मेलाबाट नेपाली पोशाकको लागि बजार विस्तार हुने र थप सम्भाव्य बजारको पहिचान हुने पाण्डेले जानकारी दिए ।

मेलामा सरकारको लागत सहभागिताअन्तर्गत व्यापार तथा प्रवर्द्धन निकासी केन्द्रबाट २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Logo