इलामको रोङमा कला-संस्कृति महोत्सव

इलामको रोङमा कला-संस्कृति महोत्सव

केन्द्रबिन्दु
56
Shares

विराटनगर। रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकामा आजदेखि कला–साहित्य महोत्सव आयोजना हुँदैछ।

इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा माघ २७ देखि २९ गतेसम्म वडामा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवका विषयवस्तु स्थानीय मौलिस संस्कृतिसँग सम्बन्धित रहने वडाध्यक्ष सत्यम राईले बताए। उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गर्न लागिएको हो।

महोत्सवका क्रममा लेप्चा, तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकी प्रदर्शन गरिने छ उनले बताए। उक्त गाउँपालिका अल्पसंख्यक लेप्चा जातिको बसोबास भएको स्थान हो।

महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन्। झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएको छ।

उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पुस्तालाई कला–संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्ने जनाइएको छ। महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने राईले बताए।

महोत्सवको उद्घाटन माघ २७ गते पर्यटकीय झन्डीडाँडामा गरिनेछ। त्यसपछि त्यसैदिन साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा ‘रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्ने कार्यक्रम छ।

‘कृषिः सम्भावना, समस्या र सीमा’ विषयमा योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबीच बहस हुनेछ। ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबीचको बहस पनि हुनेछ।

दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिएको छ। त्यस दिन ‘कविहरू गाउँ फर्किन्छन्’ कार्यक्रम सञ्चालन गरिनेछ। यसमा १० स्थानीय र १० गैरस्थानीय कवि–कवयित्रीले आफ्ना रचना सुनाउनेछन्।

‘विश्वव्यापीकरणभित्र गाउँ’ शीर्षकमा आहुति, समुना श्रेष्ठ र अन्य दुई वक्ताबीच छलफल हुनेछ। ‘गाउँ–सहरका महिला र पुरुष’ विषयमा कैलाश राई र अन्य दुई वक्ताबीच छलफल गर्ने तय भएको छ। ‘हामी इतिहासमा बाँच्छौं’ विषयमा वीरबहादुर लेप्चा र अन्य दुई वक्ताबीचको बहस पनि त्यसै दिन हुनेछ।

तेस्रो दिनको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ। ‘एक चित्रकारले देख्ने गाउँ’ को चित्रकला प्रदर्शनी गरिनेछ। यसमा २० चित्रकार सहभागी हुनेछन्। त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिनेछ। नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार रहनेछन्।

Logo